हेटौंडा । हेटौंडामा कुमा सागर एण्ड द ख्वोपा म्युजिक ब्याण्डको कन्सर्ट हुने भएको छ । नेपाल साउण्ड वेभ्स इभेण्ट्सको आयोजनामा शुक्रबार कुमा सागरको म्युजिक ब्याण्डको कन्सर्ट हुन लागेको आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयको चौरमा हुने कन्सर्टमा विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम रहने कार्यक्रम संयोजक संगीत श्रेष्ठले जानकारी दिए । कुमा सागरको हेटौंडामा यो पहिलो कन्सर्ट हो । हालसम्म करिब ६ सय टिकट बिक्रि भएको उनले बताए ।
नेवारी संस्कृतिको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागेको कन्सर्टमा लोकनृत्य, नेवारीनृत्य लगायतका विभिन्न गायन प्रस्तुति रहने उनले बताए। उनका अनुसार करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको कन्सर्टमा ५ लाख रुपैयाँ कलाकारका लागि खर्च हुनेछ ।
कन्सर्टमा साधारण प्रवेश शुल्क प्रतिव्यक्ति ५ सय र भिआइपी प्रवेश शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ निर्धारण गरिएको उनले बताए ।कन्सर्टबाट भएको फाइदाबाट विद्यालयका निम्न वर्गका विद्यार्थीका लागि शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिने उनको भनाई छ ।
६ वटा खाजाको स्टल व्यवस्था गरिएको कन्सर्टमा करिब ४ हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलगायतसँगको सहकार्यमा सुरक्षा व्यवस्थापन गरिने उनले बताए । हेटौंडाको लाफिङ हाउस, मेलो बासुकला र कफीबारलगायत ठाउँमा टिकट उपलब्ध छ ।

















