हेटौँडा बचत तथा ऋण सहकारीको कुल बजेट ५९ करोड नाघ्यो

हेटौँडा । हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल बजेट ५९ करोड रुपैयाँ नाघेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ७ मा मुख्य कार्यालय रहेको संस्थाको २६ औँ वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्थाको कुल बचत ५९ करोड १६ लाख ६५ हजार रुपैयाँ पुगेको हो ।

शनिबार सम्पन्न साधारण सभा संस्थाका ज्येष्ठ सदस्य राजीप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सभाको अध्यक्षता संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतले गरेका थिए । सो सभामा अध्यक्ष बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव युवराज गौतमले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष पार्वती ढकालले आगामी आर्थिक वर्षको योजना तथा वार्षिक बजेट प्रस्तुत गरेकी थिइन् ।

प्रतिवेदनअनुसार संस्थामा हाल ४ हजार १ सय ९७ महिला र २ हजार ८ सय ८१ पुरुष गरी कुल ७ हजार ३८ जना शेयर सदस्य आबद्ध छन्। संस्थाको शेयर पुँजी ५ करोड २ लाख २९ हजार रुपैयाँ रहेको छ ।

संस्थाले मासिक, दैनिक, आवधिक, पेन्सन, बाल बचत र पर्व बचतसहित १२ प्रकारका बचत योजना सञ्चालन गर्दै आएको छ । यस्तै, संस्थाको ऋण लगानी ५५ करोड ६४ लाख रुपैयाँ, जगेडा कोष ४ करोड ११ लाख रुपैयाँ र अन्य कोष १ करोड २४ लाख रुपैयाँ रहेको जानकारी गराइएको छ ।

साधारण सभामा विभिन्न क्षेत्रका योगदानकर्ताहरूलाई सम्मानसमेत गरिएको छ । संस्थाले पत्रकार श्रीराम अर्जुन र सामाजिक व्यक्तित्वतर्फ यशोधा कुमारी उप्रेतीलाई सम्मान गरेको छ । यस्तै, उत्कृष्ट कार्यसम्पादन गरेवापत बचत तथा लेखा सहायक सरस्वती पाख्रिन र कार्यालय सहयोगी राममाया घलान पुरस्कृत भएका छन् ।

संस्थाको हेटौँडा–२, हेटौँडा–८ र हेटौँडा –१६ मा सदस्य सेवा केन्द्र सञ्चालनमा रहेका छन् । साधारण सभाबाट नयाँ लेखा सु–परिवेक्षण समिति र सञ्चालक समिति चयन गरिने र यसका लागि आइतबार निर्वाचन कार्यक्रम तय गरिएको सचिव गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.