राष्ट्रिय निर्माण व्यापार महोत्सवको सम्पुर्ण तयारी पुरा , गृहमन्त्री लेखकले उद्धाटन गर्ने

हेटौंडा निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुन लागेको ‘दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ को सम्पूर्ण तयारी पुरा भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै फागुन ६ गतेदेखि १८ गतेसम्म हेटौंडा–१० स्थित टिसियन चौरमा हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइएको हो ।

स्टल र स्टेज निर्माण, टिकटघर लगायतका पूर्वाधारको तयारी अन्तिम चरणमा रहेको संघका अध्यक्ष बालगोपल कँडेलले जानकारी दिए । महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने उनले बताए । फागुन ६ गते बिहान १०ः३० बजे हुप्राचौरबाट पारिजातपथ, बुद्धचोक, टिसियन चौरमा पुगेर शोभायात्रा समेत गरिने आयोजकले जनाएको छ ।

महोत्सवको दोश्रो दिन फागुन ७ गतेदेखि हरेक दिन हेटौंडा आईडलको प्रतियोगिता, राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । हेटौंडा आईडलमा प्रारम्भिक छनौटमा १६ जना छनौट भईसकेका छन् । निर्माणको क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीहरुको प्रदर्शनी र बिक्री समेत गरिने अध्यक्ष कँडेलले बताए ।

निर्माण व्यवसायीसंगै आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउन र निर्माण उद्योग क्षेत्रको वर्तमान समस्या, चुनौती, अवसरका बारेमा छलफल, गोष्ठी लगायतका अन्तरक्रियात्क कार्यक्रम समेत हुने उनको भनाई छ ।

महोत्सवको अवधिमा निर्माण व्यवसायी, दर्शक, उपभोक्ताहरुका राय, सल्लाह, सुझाव समेत संकलन गरिने उनले बताए । महोत्सवमा निर्माण उपकरण, निर्माण सामग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामग्री लगायतका ३ सय ५० वटा स्टलहरु रहने छ ।

महोत्सवको प्रवेश शुल्क ७५ रुपैंया र विद्यार्थीको लागि ५० रुपैंया तोकिएको आयोजकले जनाएको छ । २०७१ सालमा पहिलो पटक महोत्सव गरेको संघले १० वर्षपछि महोत्सव गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.