हेटौंडा । हेटौंडामा सञ्चालित डान्सबारहरूको अनुगमन प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल र प्रहरी उपरिक्षक ९एसपी० विश्वराज खड्काको नेतृत्वमा गरिएको छ। सञ्चार माध्यममा डान्सबारहरूमा अवैध गतिविधिहरूको समाचार सार्वजनिक भएपछि प्रशासनले अनुगमन गरेको जानकारी प्रजिअ चिलुवालले दिएका छन्।
प्रजिअ चिलुवालले अनुगमनको क्रममा डान्सबारहरूमा नाबालिकालाई कामदारको रूपमा राख्न नदिने निर्देशन दिएका छन्। साथै, उनले सबै कामदारहरूको विवरण संकलन गर्न प्रहरीलाई निर्देशन पनि दिएका छन्। प्रहरी उपरिक्षक खड्काले डान्सबारहरूले चर्को मूल्य लिई ग्राहकलाई ठगी गरेको भन्दै यस्ता गतिविधिहरू रोक्न तदारुकता अपनाउन निर्देशन दिएका छन् ।
उनले डान्सबार संचालकलाई ध्वनि प्रदूषण नियन्त्रण गर्न, मर्यादित तरिकाले सञ्चालन गर्न र अबान्छित गतिविधिहरूको रोकथाम गर्न सचेत गराएका छन्।
अनुगमनमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र सादा पोशाकका प्रहरी कर्मचारीहरूको समेत सहभागीता रहेको थियो।

















