मकवानपुर जिल्ला प्रशासन कार्यालयको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक

हेटौँडा।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ। सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै, कार्यालयले साउनदेखि पुस मसान्तसम्मका ६ महिनामा सम्पन्न गरेका प्रमुख कार्यहरूको बारेमा जानकारी दिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार, अर्धवार्षिक अवधिमा १२ जना घाइते र अपांगता भएका व्यक्तिहरूलाई ४ लाख ५५ हजार चार सय रुपैयाँको जीवन निर्वाह भत्ता उपलब्ध गराइएको छ। यसैगरी, द्धन्द्धपीडितको नामावली अद्यावधिक गरिएको छ।

साथै, कार्यालयले गत आर्थिक वर्षका ८७ दशमलव ५७ प्रतिशत र यस आर्थिक वर्षको ७५ प्रतिशत मुद्दाहरूको समाधान गरेको जानकारी दिइएको छ। चालु आर्थिक वर्षमा राष्ट्रिय परिचयपत्र र पञ्जिकरण विभागबाट ११ हजार राष्ट्रिय परिचय पत्र कार्ड वितरणमा आएकोमा, ७ हजार ५ सय ९० वटा वितरण गरिएको पनि जानकारी दिइएको छ।

यस अवधिमा ५ हजार ५ सय ९० जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने ४ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका छन्। त्यस्तै, १३ जना गैरआवासियले नागरिकता पाएका छन्। असोज महिनामा आएको विपद्बाट प्रभावितलाई राहतको रूपमा ४३ लाख ४० हजार रुपैयाँ वितरण गरिएको छ। यसैगरी, संकटग्रस्त क्षेत्र इन्द्रसरोवर गाउँपालिकाका लागि ७५ लाख, बकैया र भीमफेदीका लागि ५०÷५० लाख राहत रकम पठाइएको छ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले नेपाल पत्रकार महासंघका नवनिर्वाचित समितिलाई सम्मान र बधाई ज्ञापन गर्दै, जिल्लामा शान्ति र सुरक्षाको सुनिश्चितता गर्नका लागि एकीकृत सुरक्षा योजना र क्षेत्रगत विशेष सुरक्षा योजना तर्जुमा गरिएको जानकारी दिएका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.