हेटौंडा । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो पाँच महिनाको अवधिमा वाग्मती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१र८२ को साउनदेखि मंसिरसम्ममा कुल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८१र८२ को पाँच महिनाको अवधिमा कुल बजेटको ११ दशमलव ४२ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँको बजेट ल्याएकोमा पाँच महिनामा सात अर्ब ३७ करोड १९ लाख २५ हजार रुपैयाँ बजेट खर्च भएको उले बताए । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ ।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ३६ दशमलव २२ प्रतिशत, प्रदेशसभा सचिवालयले २३ दशमलव ९० प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले दुई दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

















