मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा छोराले रड प्रहार गर्दा आमा सख्त घाइते भएकी छिन् । थाहा नगरपालिका ९ टौखेल निवासी अन्दाजी ६५ वर्षकी आमा मसिनेमाया गमाललाई आफ्नै घरमा सुतिरहेको अवस्थामा उनको कान्छो छोरा करिब २८ वर्षका प्रविन भन्ने नुनेस गमालले टाउकोमा रडले हिर्काएका हुन् ।
रड प्रहारबाट घाइते भएकी आमालाई जेठो छोरा मिनेसराज गमालले उपचारका लागि काठमाण्डौ लगेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । आफ्नै आमालाई कुटपिट गर्ने नुनेसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको विषयमा जानकारी हुनासाथ ईलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी वरिष्ठ हवल्दार श्रीरामप्रसाद यादवको नेतृत्वमा टोली खटिएको थियो । आमालाई रड प्रहार गर्ने नुनेस डिप्रेसनको बिरामी रहेको र औषधी सेवन गर्ने गरेको प्रहरीले जनाएको छ ।
घाइते आमाको अल्का अस्पताल ललितपुरमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।














