मकवानपुर । हेटौंडा उपमहानगरपालिका–६ हात्तीलेटस्थित धरान-चतरा सडकखण्डमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गौरीटारबाट चौघडा चोकतर्फ जाँदै गरेको प्रदेश २-०३-००९ प ७०२८ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण सडकको रेलिङमा ठोक्किँदा अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–६ निवासी अन्दाजी १७/१८ वर्षीय प्रतिक मानन्धर गम्भीर घाइते भएका थिए। उनको टाउको र छातीमा गम्भीर चोट लागेको अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएकोमा दिउँसो ३:०० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
त्यस्तै, मोटरसाइकलको पछाडि सवार हेटौंडा–६ कै अन्दाजी १७ वर्षीय अंकुर लामा घाइते भएका छन्। उनको दुवै हात र बाँया खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरी चौकी चौघडाबाट ट्राफिकसहितको टोली खटिएर घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।














