कैलाशका २२४ जना विद्यार्थीले दिए एसईइ परीक्षा

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका २२४ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईइ) परीक्षा दिएका छन् । नियमित र ग्रेड वृद्धि गरी २२४ जनाले परीक्षा दिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख समीर जोशीले जानकारी दिए ।

बिहीबारबाट सुरु भएको कैलाशका ६ वटा माध्यामिक विद्यालय मध्ये कालिका माविका विद्यार्थीले भूटनदेवी परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् भने अन्य पाँच माविका विद्यार्थीले कैलाश ९ मा रहेको कालिका मावि परीक्षा केन्द्रबाट परीक्षा दिएको जोशीले बताए । कालिका माध्यामिक विद्यालयलाई गत वर्षबाट पहिलो पटक कैलाश गाउँपालिकामा परीक्षा केन्द्र तोकिएको थियो ।

पालिकाभित्र अध्ययनरत विद्यार्थीहरु मनहरी, थाहा र हेटौंडा पुगेर परीक्षा दिने बाध्यतालाई अन्त्य गर्दै गतवर्षबाट पालिकामै केन्द्र कायम गरिएको गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । भौगोलिक विकटता भएकाले परीक्षा र पठनपाठनमा असहज परिस्थिती विद्यार्थीमा रहेको थियो, सोहीलाई सहजता बनाउन केन्द्र कायम गरि परीक्षा सञ्चालन गरिएको उनले बताए ।

भौगोलिक विकटताले केन्द्र आउन जान असज हुनाले हामीले परीक्षा दिने विद्यार्थीका लागि परीक्षा केन्द्र परिसरमै खाना र आवासको व्यवस्था समेत गरेका छौं, अध्यक्ष मुक्तानले भने । विद्यार्थीको खाना र आवासका लागि आवश्यक खर्च सबै गाउँपालिकाले व्यहोर्ने छ । कालिका माविका विद्यार्थी जो हेटौंडामा परीक्षा दिन्छन् उनीहरुलाई पनि गाउँपालिकाले खानाको व्यवस्था गरिएको अध्यक्ष मुक्तानले बताए ।

कैलाशका ६ वटा विद्यालयबाट नियमिततर्फ एसईई परीक्षामा एक सय ४९ जना विद्यार्थीले परीक्षा दिएका छन् भने ग्रेडवृद्धिका लागि ७५ जना विद्यार्थी रहेको शाखा प्रमुख जोशीले बताए । कैलाशको कमलादेवी माविबाट नियमिततर्फ १५ जना, ग्रेडवृद्धितर्फ ५ जना, भवानी माविबाट नियमिततर्फ ३२ जना, ग्रेडवृद्धितर्फ १९ जना, व्यास माविबाट नियमिततर्फ ३७ जना, ग्रेडवृद्धितर्फ २३ जना रहेका छन् । यस्तै, धुवाङ माविबाट नियमितर्फ १० जना, ग्रेडवृद्धितर्फ ५ जना, रत्नज्योति माविबाट नियमिततर्फ २१ जना र ग्रेडवृद्धितर्फ ११, कालिका माविबाट नियमिततर्फ ३४ जना, ग्रेडवृद्धितर्फ १२ जनाले परीक्षा दिएका छन् ।

कालिका माविका विद्यार्थीले भने हेटौंडा ४ स्थित भुटनदेवी माविबाट परीक्षा दिएका छन् । कैलाशका नियमिततर्फ १४९ जना र ग्रेडवृद्धितर्फ ७५ जना गरी २२४ जना विद्यार्थीले परीक्षा दिइएको जोशीले बताए । जसमा कालिका मावि परीक्षा केन्द्रमा नियमिततर्फ ११५ जना र ग्रेडवृद्धितर्फ ६३ जना गरी १७८ जनाले परीक्षा दिएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका मकवानपुरमा एसईईको केन्द्र २८ वटा रहेका छन् । गतवर्ष कैलाशको थप गरेसँगै २८ वटा रहेकोे इकाई प्रमुख सुदीप गिरीले बताए । यसवर्ष मकवानपुरबाट एसईईमा सात हजार १९२ विद्यार्थी परीक्षा सहभागि छन् । जसमा नियमिततर्फ ५ हजार ५२७ र ग्रेडवृद्धितर्फ १ हजार ६५ जना गरी कुल ७ हजार १९२ परीक्षार्थीले परीक्षा दिएको प्रमुख गिरीले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.