मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणा भएको पाँच वर्ष पूरा भएको अवसरमा हात्तिसुडेस्थित पालिका सभाहलमा गरिमामय समारोह आयोजना गरेको छ । उक्त कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको सभाध्यक्षता तथा अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल, वडा अध्यक्षहरू गोपालबहादुर न्यासुर, भुमलसिं घलान, विश्वराज स्यागंतान तथा मानबहादुर सिन्तानको विशेष आतिथ्यता रहेको थियो। समारोहमा जनप्रतिनिधि, कर्मचारी, सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा बालमैत्री अभियानमा संलग्न व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
समारोहको विशेष आकर्षणका रूपमा बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडालाई प्रशंसापत्र प्रदान गरिएको थियो। बकैया गाउँपालिकामा बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा पश्चात् यसको दिगोपनका लागि संस्थागत रूपमा सक्रिय सहभागिता जनाउँदै बाल संरक्षण क्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो।
प्रमुख अतिथि अध्यक्ष धर्मराज लामिछानेले बाल भेलाबाट आएका सुझाव तथा मागहरूलाई सम्बोधन गर्दै बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी पालिकाले कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे । उनले बालमैत्री दिगोपनलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याए ।
यस्तै, पालिका उपाध्यक्ष खत्रीले बालमैत्री दिगोपनका चुनौतीहरूलाई पालिकाले जिम्मेवारीपूर्वक स्वीकार गरेको बताउँदै सामाजिक संस्थाहरूसँगको सहकार्यबाट बाल श्रम, बाल विवाह तथा बाल हिंसाविरुद्ध अभियान सञ्चालन गरिएको जानकारी दिए । साथै विद्यालयमा विद्यार्थीको पहुँच विस्तार, शिक्षाको गुणस्तर अभिवृद्धि तथा विद्यालय छोड्ने दर न्यूनीकरणमा प्रगति भएको उल्लेख गर्दै उनले बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाको निरन्तर सहकार्यप्रति आभार व्यक्त गरे ।
उक्त अवसरमा सबिन खडका, मञ्जु बजु, कोपिला घिमिरे, गंगा फुयाल, विरे लाल सिंतान, देवराज लामिछाने, भगवती अधिकारी, पदमबहादुर घलान र जयबहादुर भोम्जन लगायतका बालमैत्री सहजकर्ताहरूलाई बालमैत्री दिगोपनमा पु¥याएको योगदानका लागि धन्यवादसहित सम्मान व्यक्त गरिएको थियो ।
सम्मान ग्रहण गर्दै प्रकाश खतिवडाले सामाजिक संस्थाको योगदानको मूल्यांकन गर्दै सम्मान प्रदान गरेकोमा गाउँपालिकाप्रति कृतज्ञता व्यक्त गरे । उनले उक्त सम्मानले सामाजिक कार्यप्रति थप उत्साह र जिम्मेवारीबोध गराएको बताए ।
यस्तै, वडाध्यक्षहरूले बालमैत्री दिगोपन सुनिश्चित गर्न शिक्षामा लगानी वृद्धि, गुणस्तरीय शिक्षा प्रवद्र्धन, बालमैत्री विद्यालयको विकास, बाल सञ्जालको सक्रिय परिचालन तथा बालमैत्री सहजकर्तालाई विशेष जिम्मेवारीसहित परिचालन गर्नुपर्ने धारणा व्यक्त गरे ।
वार्षिकोत्सवकै अवसरमा आयोजित बाल भेलाबाट ससिना बलको अध्यक्षतामा २१ सदस्यीय पालिका स्तरीय बाल सञ्जाल कार्यसमिति गठन गरिएको छ । नवगठित सञ्जालका पदाधिकारी तथा सदस्यहरूलाई उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरूले टीका–मालासहित बधाई ज्ञापन गर्दै बालमैत्री दिगोपनका लागि सक्रियतापूर्वक बाल क्लब सञ्चालन गर्न आग्रह गरे ।

















