हेटौँडा । सञ्चारिका समूह मकवानपुरलाई सेनेटरी प्याड प्राप्त भएको छ । हेटौँडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले आफ्नो १६ औँ वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज तेस्रो दिन सञ्चारिका समुह मकवानपुलाई सेनेटरी प्याड वितरण गरेको हो ।
नेपाल पत्रकार महासंघ मकवानपुका अध्यक्ष बालकृष्ण अधिकारीले सञ्चारिका समुह मकवानपुरकी अध्यक्ष निशा गुरुङलाई २ सय थान सेनेटरी प्याड वितरण गरेका हुन् ।
अध्यक्ष अधिकारीले महिला पत्रकारहरुलाई प्याड वितरणको अभियान सञ्चालन गर्दै आईरहेको सञ्चारिका समुहलाई विशेष धन्यवाद व्यक्त गरे । उनले सञ्चारिकाले रचनात्मक कार्यक्रम गर्दै आईरहेको सञ्चारिका समुहलाई पत्रकार महासंघ मकवानपुरले हरेक परिस्थतीमा सहयोग गर्न तयार भएको बताए । साथै उनले पत्रकारिता गर्दा निश्पक्ष र सत्य तथ्यमा आधारित भएर काम गर्न समेत आग्रह गरे ।
त्यसैगरी, सञ्चारिका समुह मकवानपुर र बागमती प्रदेशकी संस्थापक अध्यक्ष सरिता दाहालले मकवानपुरमा सञ्चारिका समुहको सक्रियता लोभ लाग्दो रहेको बताईन् । उनले सञ्चारको क्षेत्रमा महिला पत्रकारहरुलाई पुरुष पत्रकारहरुले साथ दिईरहेको भन्दै यसले महिला पत्रकारहरुलाई अगाडि बढ्न प्रेरित हुने बताईन् ।
रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा सञ्चारिका समुह बागमती प्रदेशकी महासचिव नानीमाया सोपकोटा, रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी, सञ्चारिका जिल्ला अध्यक्ष निशा गुरुङ, प्रेस चौतारीकी उपाध्यक्ष प्रतिक्षा न्यौपाने लगायतका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
मघ १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रम , दोश्रो दिन हेटौंडा–१८ मा रहेको वेद विद्यालयमा खाद्यन्न सहयोग गरिएको थियो ।
रेडियो मकवानपुरको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माघ १९ गते रेडियो परिसरमै निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरसंवाद, माघ २० गते मिडिया कप फुटसल प्रतियोगिता आयोजना गरिनेछ भने माघ २२ गते कार्यक्रमको औपचारिक समापन हुनेछ ।
सप्ताहव्यापी कार्यक्रमको समापन समारोहमा मकवानपुरका दुई जना व्यक्तिलाई जनही १० हजार रुपैयाँ नगदसहित ‘सामुदायिक सम्मान’ प्रदान गरिने रेडियो मकवानपुरले जनाएको छ । रेडियो मकवानपुरले हरेक वर्ष वार्षिकोत्सवमा दुई जनालाई सामुदायिक सम्मान तथा हरितालिका तीजको अवसरमा दुई महिलालाई ‘जागरुक महिला सम्मान’ प्रदान गर्दै आएको छ ।

















