हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा बजारका विभिन्न व्यवसायीहरूसँग समसामयिक विषयमा अन्तरक्रिया गरेको छ। शुक्रबार प्रहरी कार्यालयको सभाहलमा ग्यारेज, वर्कसप, मोटर पार्ट्स सप, कवाडी संकलन केन्द्रका संचालक तथा कामदार गरी करिब १२० जनाको सहभागिता अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्ले जानकारी दिएको छ ।
कार्यक्रममा वर्तमान शान्ति सुरक्षाको अवस्था, देखापर्दै आएका चुनौती र व्यवसायीहरूले अपनाउनुपर्ने सावधानी तथा जिम्मेवारीका विषयमा विस्तृत छलफल गरिएको प्रहरीले जनाएको छ। सोही अवसरमा सडक डिभिजन कार्यालय मकवानपुरले हेटौंडा बजार क्षेत्रमा सुरु गर्न लागेको सडक विस्तार कार्यबारे व्यवसायीहरूको राय, सुझाव संकलन गर्दै, आपसी सहकार्यका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

अन्तरक्रिया क्रममा उठेका सुरक्षा सम्बन्धी प्रश्नहरूको उत्तर दिँदै कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले कुनै पनि लोभ लालच, अपवाह वा बाह्य उक्साहटमा परेर गलत क्रियाकलापतर्फ नलाग्न व्यवसायीहरूलाई आग्रह गरे। उनले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीसँग सहकार्य गर्दै जिम्मेवार भूमिका निर्वाह गर्न व्यवसायीहरूलाई अनुरोध गरेका छन्।
प्रहरीका अनुसार यस्ता कार्यक्रमले समुदाय–प्रहरी सम्बन्ध थप सुदृढ हुने र बजार क्षेत्रमा देखापर्न सक्ने जोखिम तथा समस्याहरूलाई समयमै पहिचान गरी न्यूनिकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।















