१९ गतेबाट हेटौंडामा राष्ट्रियस्तरको स्क्राबल प्रतियोगिता हुने

हेटौंडा । यही मंसिर १९ र २० गते हेटौंडामा राष्ट्रियस्तरको स्क्राबल प्रतियोगिता हुने भएको छ । हेटौंडा २ मा रहेको बालजागृति इंग्लिस बोर्डिङ स्कुलको आयोजना तथा स्क्राबल क्लब अफ नेपालको संयोजनमा प्रतियोगिता हुने भएको हो ।

दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर, गोरखा, स्याङ्जा, रुपन्देही, गुल्मी, सुर्खेत, सुनसरी, बारा, अर्घाखाँची, कैलालीलगायत देशका २५ भन्दा बढी जिल्लाबाट एक सयभन्दा बढी विद्यार्थी सहभागी हुनेछन् । आयोजक बालजागृतिका प्रिन्सिपल विनोद सुवेदीका अनुसार विद्यार्थीमा शाब्दिक ज्ञानसँगै समस्या समाधान क्षमता, जोखिम व्यवस्थापन, कण्ठ गर्न सक्ने क्षमता तथा समग्र बौद्धिक विकास गर्ने उद्देश्यका साथ स्क्राबल प्रतियोगिताको आयोजना गरिएको हो ।

विद्यालयले यसअघि आयोजना गरेको जिल्लास्तरीय स्क्राबल प्रतियोगितामा सहभागी विद्यार्थी शैक्षिक र व्यावहारिक दुवै क्षेत्रमा उत्कृष्ट नतिजा देखिएको उनले बताए । स्क्राबल क्लब अफ नेपालका अध्यक्ष केशवप्रसाद पराजुलीका अनुसार ७७ मध्ये ४० भन्दा बढी जिल्लामा स्क्राबल परिचित भइसकेको छ । ३० जिल्लामा खेलका समिति सक्रिय रहेको छ ।

अभिभावकहरूले पनि खेलको महत्व बुझ्दै विद्यार्थीलाई सहभागी हुन प्रोत्साहित गर्नुपर्ने उनले बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः १५ हजार, १३ हजार र ११ हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै चौथोदेखि सातौँसम्मका लागि नौ हजारदेखि तीन हजार रुपैयाँसम्म पुरस्कार राखिएको छ । आठौँ, नवौँ र दसौँलाई जनही तीन हजार रुपैयाँ पुरस्कार दिइनेछ भने एघारौँदेखि २५औँ स्थानसम्म छानिएका सहभागीलाई जनही दुई हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताबाट उत्कृष्ट २५ स्थानमा परेकाहरूलाई अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागी गराउने तयारी रहेको पनि आयोजकले जनाएको छ । खेल सञ्चालनका लागि करिब १३ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.