हेटौंडा । नेपाली काँग्रेस बकैया ४ नम्बर वडा इकाई समितिले आगलागी पीडित एक परिवारलाई राहत वितरण गरेको छ । इकाईले मंगलबार पीडितको बासस्थानमै पुगी खाद्यान्न तथा ओढ्ने न्यानो कपडा वितरण गरेको हो ।
इकाई सभापति सुनिल भोम्जनका अनुसार गत मंसिर ६ गते बकैया गाउँपालिका–४, रातो थलीका पुर्ण बहादुर घलानको घर जलेर नष्ट भएको थियो । वितरण कार्यक्रममा नेपाली कांग्रेस बकैया कार्यसमिति सभापति दिल बहादुर भोम्जन, स्थानीय नेता तथा कार्यकर्ता र बुद्धिजीवीहरुको उपस्थिति थियो।
सहभागीहरुले आगलागीबाट पीडित घलान परिवारप्रति सहानुभूति व्यक्त गर्दै अस्थायी बसोबासको व्यवस्था तत्काल मिलाइने आश्वासन दिएका छन्। दीर्घकालीन स्थायी पुनर्निर्माणका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी सहयोग जुटाउने प्रतिबद्धता समेत गरिएको छ । पीडित परिवारको पुनःस्थापना र जीवनस्तर सुधारमा स्थानीय समुदायसँग मिलेर काम गर्ने योजना अघि सारिएको बताइएको छ ।















