“भूकम्पले शरीरलाई थाम्यो, तर आशा रोकिएन”
लायन्स क्लब अफ हेटौँडा भुटनदेवीको आयोजनामा ह्वीलचेयर प्रदान

हेटौँडा । मानिसले सँधै आफ्नो जीवनमा कहिले पनि नराम्रो होस् भन्ने सोच्दैन । प्राकृतिक प्रकोपले मानिसको जीवनमा कहिलेकाँही अनपेक्षित मोड ल्याउन सक्छ । हो त्यस्तै भयो हेटौँडाका प्रजय सुबेदीको जीवन ! यो घटना हो १० वर्ष अगाडि २०७२ साल बैशाख १२ गतेको । हेटौँडा उपमहानगरपालिका वडा नम्वर १०, न्युनेरीका उनी खाना खाएर साथीहरुसँग पौडी खेल्न राप्ती खोलामा पुगे ।

कसलाई के थाहा भूकम्प आउछ भनेर । एक्कासी आएको भूकम्पमा परेर उनी खोलाको छेउमा रहेको ढुंगामा लडेर बजारिए । नेपालमा सानो तिनो (भूकम्प) पराकम्प त आउने गरेको थियो । तर, त्यो समय सानो होइन ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प आयो । कयौंको ज्यान गयो, कयौं अपाङ्ग भए । कतिको घर भत्किएर बासस्थान उठ्यो । त्यस्तै, २१ वर्षीय (अहिले ३१ वर्ष ) प्रजयको पनि जीवनमा कायापलट पल्टियो । १२ कक्षा पढेका उनका धेरै सपना थिए । तर, भूकम्पले सबै सपना चक्नाचुर बनाइदियो ।

त्यो समयमा प्रजय र उनको परिवारका लागि जीवन कठिन, डरावना र अनिश्चित थियो । खोलाको ढुंगामा बजारिएको उनको शरिर चल्ला भनेर ऋण-धन गरेर चितवनको भरतपुस्थित पुरानो सीएमसी मेडिकल कलेजमा उपचारको लागि लगियो । डाक्टरले उनलाई क्वाटी प्लिजिया ( चारवटै अंगमा पक्षघात) भएको बताए । त्यहाँ अप्रेशन गरेर करिब साढे तीन महिना उपचारपछि केही आशा लिएर उनी बनेपास्थित अपाङ्गता भएका बालबालिकाको लागि अस्पताल तथा पुनर्वास केन्द्र (एचआईआरसी) अस्पताल पुगे । त्यहाँ पनि करिब छ महिनासम्म थेरापी गराए । हुनेहार दैब नटार भने झै लाखौं कोशिस गर्दा पनि त्यसको उपचार हुन सकेन !

परिवारले उनका उपचारमा अहिलेसम्म करिब २२ लाख रुपैयाँ खर्च गरिसकेको छ । प्रजयले हाल हेटौँडा उपमहानगरपालिकाबाट पुर्ण अपाङ्गता भत्ता प्राप्त गर्दै आएका छन् । उनले त्यसबापत मासिक ४ हजार रुपैयाँ (त्रैमासिक १२ हजार रुपैयाँ) अपाङ्गता भत्ता पाउँदै आएका छन् ।

प्रजयको परिवार हेटौँडामा ३२ वर्षदेखि बसोबास गर्दै आएको छ, तर घरको लालपुर्जा (जग्गाको स्वामित्व प्रमाण) छैन । उनका बुबा राजु सुवेदी मयुरी व्यवसायमा संलग्न छन् भने आमा रचना र बहिनी प्रकृति सुवेदी घरको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण छोराको अलि  राम्रो उपचार गर्न नसकेको उनका बाबू राजु बताउँछन् । राजु भन्छन्, “छोरा ठूलो होला र घर-व्यवहार टार्ला भन्नि लाग्थ्यो । तर, पढेका छोरा घरम यसरी बस्नु पर्याछ!”

मंगलबार लायन्स क्लब अफ हेटौँडा भुटनदेवीको आयोजनामा प्रजयलाई ह्वीलचेयर प्रदान गरिएको छ । करिब ९ हजार ५ सय रुपैयाँ मूल्य बराबरको ह्वीलचेयर प्रदान गरिएको हो । लायन गायत्री श्रेष्ठले आफ्नो व्यक्तिगत खर्चमा उक्त ह्वीलचेयर उपलब्ध गराइएको हो ।

जीवनले कहिल्यै पूर्ण रूपमा थाम्न सक्छ, तर आशा कहिल्यै रोकिँदैन भने झै भूकम्पले शरीरलाई थाम्यो, तर प्रजयको आत्मामा आशाको ज्योति बलिरहेछ ।

जीवनमा पहिलोपटक यस्तो सहयोग पाए भन्दै प्रजयले भावुक हुँदै भने, “यदि अपाङ्गमैत्री उपकरणको सहयोग पाए भने मैले आफैं खर्च निकालेर काम गर्न सक्छु भन्ने आशा जाग्छ । यी उपकरण उपलब्ध गारइदिन सबैलाई आग्रह गर्दछु ।”

ह्वीलचीय हस्तान्तरण कार्यक्रम लायन्स क्लब अफ हेटौँडा भुटनदेवीकी अध्यक्ष रीता वाइबाको अध्यक्षतामा सम्पन्न भएको हो ।

सो क्रममा बोल्दै अध्यक्ष वाइबाले भने, “सानो सहयोगले पनि अपांगता भएका व्यक्तिहरूको जीवनमा ठूलो फरक पार्न सक्छ। हामी समाजमा सकारात्मक प्रभाव पुर्याउने उद्देश्यले यस्तो पहल गर्दै आएका छौं ।”

सुवेदीका परिवारका लागि ह्वीलचेयर मात्र सानो उपकरण होइन, जीवनमा आत्मनिर्भर बन्ने, दैनिक काम गर्न सक्ने र समाजसँग जोडिन सक्ने नयाँ आशाको प्रतीक पनि हो । लायन्स क्लबले यस्ताखाले सहयोग गर्दै आएको छ । लायन्स क्लब भुटनदेवी यो वर्ष मात्रै आफ्नो पहलमा २ वटा ह्वीलचीयर हस्तान्तरण गरेको अध्यक्ष वाइबाले बताइन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.