मकवानपुर । जेनजी प्रद्र्धशनका क्रममा आगजनी र तोडफोडका कारण क्षति पुगेको मकवानपुर जिल्ला अदालत आजबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
यसअघि आंशिक रूपमा कार्यसम्पादन र सेवा दिँदै आएको मकवानपुर जिल्ला अदालतले आजबाट सम्पूर्ण सेवाहरू पूर्ण रूपमा सञ्चालनमा ल्याएको हो ।
कात्तिक १० गतेबाट सर्वोच्च अदालतको सफ्टवेयर प्रणाली पुनस्र्थापना भएपछि बुधबार जिल्ला अदालतको न्यायाधीशहरू सहितको पूर्ण बैठकले अदालतको सम्पूर्ण सेवा सुचारु गर्ने निर्णय गरेको थियो ।
बुधबार जिल्ला अदालत मकवानपुरका न्यायाधीशहरू क्रमशः गीता श्रेष्ठ, शकुन्तला कार्की, निर्मला शर्मा र पूर्णिमा कोइरालासहितको पूर्ण बैठकले मुद्दा तथा पेशी व्यवस्थापन, मुद्दा दर्तासहित यसअघि सञ्चालन भइरहेका तारेख दिने, बयान लिने, मुद्दा दर्ता, मुद्दा फिर्ता, मिलापत्र, प्रतिउत्तर दर्ता, प्यारोल निवेदन, रोक्का तथा फुकुवासम्बन्धी निवेदनहरू लगायतका सबै सेवा सुचारु गर्ने निर्णय गरेको जिल्ला अदालतका श्र्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए ।
उनका अनुसार, जेनजी आन्दोलनपछि डेढ महिनादेखि अदालतमा रोकिएका र ‘म्यानुअली’ मात्र हुँदै आएका सबै काम बिहीबारदेखि सर्वोच्च अदालतको एकीकृत कार्य प्रणाली (सर्भर) बाटै नियमित हुनेछ ।
गत भदौ २३ र २४ गतेको जेन जी प्रद्र्धनशले आगजनीमा परेर सर्वोच्च अदालतको एकीकृत कार्य प्रणाली (सर्भर) नष्ट भएको थियो ।















