“अब वर्षा लाग्दा डर लाग्दैन, मेरा बालबालिका नचिस्सिने भए”

मकवानपुर । झरी परेपछि छानोबाट पानी चुहिन्थ्यो । कोठाभित्र टप–टप बर्सन्थ्यो । फुसको त्यो पुरानो घरमा मिठुमाया सुनार वर्षौँदेखि बालबालिकासहित दिन बिताइरहेकी थिइन् । ३३ वर्षीया मिठुमायाको जीवन सजिलो कहिल्यै भएन । पाँच वर्षअघि विष सेवन गरेर श्रीमान वितेपछि उनी चार सन्तानसहित एक्लै रहिन् । उनको साहिला छोरा शारीरिक रूपमा अशक्त छन्।

दैनिक ज्यालादारीमा निर्भर मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९, निवासी मिठुमायाको जीवनमा “छानो” भने सधैं अपूरो सपना थियो । तर, अहिले त्यो सपना साकार भएको छ र अब त्यो दृश्य बद्लिएको छ । तिहार आउनुअघि नै मिठुमायाको घरमा नयाँ छानो टल्किएको छ, अनि उनको अनुहारमा मुस्कान फुलेको छ ।

करिब ४ लाख ६५ हजार रुपैयाँ लागतमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मिठुमायाको घर बनाइदिएका छन् । मुख्यमन्त्री बानियाँले आफ्नै पारिश्रमिक र व्यक्तिगत लगानीबाट मिठुमायाका लागि नयाँ घर बनाइदिएका हुन् । उक्त घर आरसीसी पिल्लर सिस्टममा बनेको छ ।

सो घर झन्डै सात लाख रुपैयाँ लाग्ने अनुमान गरिए पनि स्थानीयको सहयोगले कम खर्चमा निर्माण सम्पन्न भएको जनाइएको छ । तीन वटा कोठा, भान्छा, शौचालय, बिजुली र खानेपानीको व्यवस्थासहित मुख्यमन्त्री बानियाँले बनाइदिएको सो घर हिजो (आइतबार) मिठुमायाई हस्तान्तरण गरियो । उक्त घर मुख्यमन्त्री बानियाँ आफैले एक कार्यक्रमबीच उनलाई हस्तान्तरण गरेका हुन् ।

पक्की घर निर्माण गरी आइतबार हस्तान्तरण गरेपछि मिठुमाया भावुक भइन् । घरको ढोका समाउँदै मिठुमायाले भनिन्, “अब वर्षा लाग्दा डर लाग्दैन, मेरा बालबालिका नचिस्सिने भए ।”

यस्तै, घर हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले आफुले राजनीति पदका लागि भन्दा पनि सेवाको लागि गरेको बताए । उनले भने,“राजनीति पदका लागि होइन, सेवाका लागि हो। यस्ता कार्यले मात्र जनतासँग नाता जोडिन्छ ।”

उनका अनुसार, यो घर हस्तान्तरण प्रदेशव्यापी अभियानको सुरुवात हो । बागमती प्रदेशभरका १ हजार विपन्न परिवारका लागि यस्तै–यस्तै सुरक्षित घर बनाइने योजना उनले सार्वजनिक गरे ।

घर हस्तान्तरण कार्यक्रममा प्रदेश सहकारी मन्त्री बिनु रायमाझी, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामालगायत स्थानीय जनप्रतिनिधि र समाजसेवीहरूको सहभागिता रहेको थियो ।

सो क्रममा मन्त्री रायमाझीले नयाँ घरबाट जीवनको यात्रा सुरु होस् भनि शुभकामना दिँदै मिठुमायाको लागि भान्साका आवश्यक सामग्रीहरू सहयोगस्वरूप हस्तान्तरण गरिन् । उनले भनिन्, “यो घर मात्र होइन, यहाँबाट उनको आत्मनिर्भर जीवनको यात्रा सुरु होस् ।”

मुख्यमन्त्री बानियाँले यसअघि मकवानपुरकै राक्सिराङ र कैलाश गाउँपालिकामा पनि आफ्नै लगानीमा थप दुई वटा यस्ता घर बनाउने तयारी भइरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.