चैनपुर जेसीज मनहरी कप फुटबल आजबाट, उद्घाटनमा कमाने र प्रहरी भिड्ने

file-photo

मकवानपुर । चैनपुर जेसीज मनहरीले आयोजना गर्न लागेको तेस्रो संस्करणको ‘जेसीज कप खुला फुटबल प्रतियोगिता’ आजबाट सुरु हुँदैछ । मनहरी गाउँपालिका ४ मसिनेस्थित गोलघरको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल कमाने फुटबल एकेडेमी र बागमती प्रदेश प्रहरीको बीचमा हुने भएको छ ।

यस संस्करणमा मकवानपुर र चितवनका गरी १३ क्लवले सहभागिता जनाएका छन् । कमाने र प्रहरी संगै हाँडीखोला यूथ क्लव, मनहरी ४, मनहरी ५, शान्ति सृजना युवा क्लव, पटिहानी इभेन्ट्स, मकवानपुरगढी जेसीज, लामिटार यूथ क्लव, गुरुशिष्य पाठशाला, माया एफसी, एफसी ढेंडो, मोडर्न युथ क्लवको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले एकलाख एक हजार एकसय ११ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक समेत रहेका जेसीजका कार्यकारिणी उपाध्यक्ष मनोज बिष्टले जानकारी दिए ।

प्रतियोगितालाई मनहरी गाउँपालिकाको ४ नम्बर वडाले मुख्य प्रायोजन गरेको छ भने मनहरी ५ नम्बर वडा, मनहरी गाउँपालिकाको कार्यालय, सानाकिसान कृषि सहकारी लामिटार लगायतका संघसंस्थाले सहयोग गरेको छ । युवाहरुको बिचमा भ्रातृत्वको सम्बन्ध स्थापनासंगै फुटबल खेलको विकासका निम्ति जेसीज कप खुला फुटबललाई निरन्तरता दिँदै आएको जेसीजका अध्यक्ष कृष्णप्रसाद ढकालले बताए ।

आगामी वर्षहरुमा पनि यस प्रतियोगितालाई निरन्तरता दिँदै जाने योजना रहेको अध्यक्ष ढकालले बताए । प्रतियोगिताका लागि करिब साढे ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको बताइएको छ । पहिलो संस्करणको उपाधी बागमती प्रदेश प्रहरी गणले जितेको थियो भने दोस्रो संस्करणको उपाधी मकवानपुरगढी जेसीजले जितेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.