हेटौँडा खुकुरी प्रहार प्रकरणः नौ दिन बित्दा पनि भएन उजुरी दर्ता
फरेस्ट्री क्याम्पस र प्रहरी प्रशासनको आफ्नो क्यामेरा नरहेको भन्दै आलटाल गरेको पीडित पक्षको आरोप

हेटौँडा । गत भदौ ३० गते दिउँसो मकवानपुरगढी गाउँपालिका–५ सामरीका युवा व्यवसायी प्रेमकुमार घिमिरेमाथि धारिलो हतियार (खुकुरी) प्रहार भयो । व्यवसायी घिमिरेमाथि हेडौँडाको फरेस्ट्री गेट अगाडि चार जना युवाको एक समूहले धारिलो हतियार प्रहार गर्यो  ।

घटनाअघि घिमिरेलाई हेटौँडाकै कर्राका एक साथीले भेट्न फरेस्ट्रीभित्र बोलाएका थिए । उनी भेटेर साथीसँगै गाडीमा फर्कँदै गर्दा गेटभित्रै चार जना युवाहरूले उनको सवारी रोके र सिसा ढकढक्याए । घिमिरेले केहीको अनुहार चिनेपछि सिसा खोल्नेबित्तिकै ती समूहले ‘जेन–जीको समर्थन गर्ने यही हो’ भन्दै उनीमाथि धारिलो हत्या प्रहार गर्यो ।

क्षणभरमै उनी रगताम्य भए । आक्रमणपछि भीडभाड मच्चियो तर, आक्रमणकारीहरु भने फरार भए । त्यसपश्चात आफैं रगताम्य अवस्थामा घिमिरे आफ्नै गाडीमा जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगे र उपचारको लागि तत्कालै हेटौँडा अस्पताल पुगे । प्राथमिक उपचार पश्चात् थप उपचारका लागि उनलाई भरतपुर रिफर गरियो । भरतपुर सिएमसी अस्पतालमा उपचाररत घिमिरेको घाउमा ६० टांका लगाइएको छ ।

पीडित परिवारका अनुसार, आक्रमणमा संलग्नमध्ये दुई जना हेटौँडा–१२ बनस्पतिका रहेका छन् । घिमिरे आफैंले पनि घटनापछि खिचिएको भिडियोमा आक्रमणकारीमध्ये कोही हेटौँडा–१२ सिक्रेनीको भएको बताए । उनले भने, ‘भिडियोमा आक्रमणकारीमध्ये हेटौँडा–१२, सिक्रेनीका दुई जना रहेछ ।’

घटना भएको नौ दिन बितिसकेको छ तर, यतिका दिन बित्दा पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरले निवेदन दर्ता समेत गरेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी उपरीक्षक (एसपी) सरुवाको कारणले प्रक्रिया ढिलाइ भएको जनाएको छ ।

यद्यपी दृश्यमा सिसिटिभी फुटेजले केही दृश्य पुष्टि गरेको छ । भिडियोमा आक्रमणकारी भागिरहेको प्रष्ट देखिन्छ । उक्त सिसिटिभी फुटेज उनको परिवारको एक सदस्यको फेसबूकमा पोस्ट्याइएको छ । तर, यता फरेस्ट्री क्याम्पस र प्रहरी प्रशासनको आफ्नो क्यामेरा नरहेको भन्दै प्रहरीले आलटाल गरिरहेको घिमिरे परिवारको गुनासो छ ।

पीडित पक्षले भने प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठदेखि प्रहरी प्रमुखसम्म गुहार माग्दा पनि वेवास्ता गरेको र उजुरी दर्ता नगरेको आरोप लगाएका छन् । प्रेमकुमारले खुला रूपमा जेन–जी आन्दोलनलाई समर्थन गरेको कारण हमला भएको परिवारको दाबी छ । परिवार स्रोत भन्छन्, “सडकमा सामान्य हिँड्दा पनि ढुक्क छैन । अपराधी निडर छन्, प्रहरी मौन छ। ” अहिले परिवार न्यायको लागि भौतारीरहेको छ ।

यो लगायतका घटनाले हेटौँडामा स्थानीयवासीमा त्रास थपेको छ । यो घटनाको केही दिन अघि मात्रै हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँमाथि पनि कुटपिट भएको थियो । यतिमात्रै होइन्, केही समयअघि हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ का वडाध्यक्ष एवम् हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेमाथि अज्ञात समूहले कालोमासो लगाउनुका साथै कुटपिट गरेका थिए । ती घटनाका अपराधिहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छैन ।

यस्तै, हेटौँडा–४ का वडाध्यक्ष नविन सिग्देल र हेटौँडा उपमहानगरपालिका वडा नम्वर १०, स्थित एक व्यवसायीमाथि पनि कुटपिट भएको थियो । दिनदहाडै जनप्रतिनिधि, व्यवसायी र सर्वसाधारणमाथि हुने यस्ताखाले घटनाले सुरक्षा संयन्त्रप्रति विश्वास कमजोर बन्दै गएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.