मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाको सुरक्षा स्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा तथा कफ्र्यु सम्बन्धी नयाँ आदेश जारी गरेको छ ।
बिहीबार एक सूचना जारी गर्दै प्रशासनले नागरिकको जनधनको सुरक्षा र जनजीवनलाई सामान्यीकरण गर्ने उद्देश्यले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम अर्को आदेश जारी नभएसम्मका लागि समय तालिका सार्वजनिक गरेको हो ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म पूर्ण रूपमा कफ्र्यु लागू हुने उल्लेख गरिएको छ । सो समयमा अत्यावश्यक बाहेक कुनै पनि किसिमको हिँडडुल तथा आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी रहनेछ । सो अवधिमा पनि अनावश्यक जमघट र भिडभाड गर्न नपाइने बताइएको छ ।
प्रशासनले अत्यावश्यक कामका लागि आवतजावत गर्न निश्चित समय छुट्टाएको छ । जसअनुसार, नागरिकले बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि आवतजावत गर्न सकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।















