मकवानपुर । बालबालिकाको अनलाइन यौन शोषण रोकथामका लागि बागमती प्रदेशको राजधानी हेटौँडामा आज बिहीबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको आयोजना सीडब्लुआइएन नेपाल मकवानपुर, डाउन टु जीरो र टेरे डे होम्स बाल शोषणले गरेको हो ।
“बालबालिकाको राष्ट्रिय गौरव धुन” भन्ने मूल नारासहित आयोजित सो कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय शाखा ब्यूरो भोटाहिटीका प्रवक्ता दीपक अवस्थीले अनलाइन माध्यमबाट हुने बालबालिकामाथिको यौन शोषणका चुनौती, जोखिम र यसलाई नियन्त्रण गर्ने उपायहरूबारे प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रम जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता एवम् सिबिनको अध्यक्ष माधव प्रधानको सभाध्यक्षतामा भएको हो ।

सिबिनको कार्यक्रम संयोजक माधव लोहनीले संचालन गरेको कार्यक्रममा विभिन्न सरोकारवाला निकाय, बालअधिकारकर्मी, पत्रकार, प्रहरी, स्थानीय तहका प्रतिनिधि लगायत ४५ जनाको सहभागिता रहेको थियो ।

सहभागीहरूले बालबालिकाको सुरक्षाका लागि प्रभावकारी कानूनी व्यवस्था कार्यान्वयन, अभिभावकको भूमिका, विद्यालयस्तरमै सचेतना कार्यक्रम सञ्चालन तथा अनलाइन प्लेटफर्म नियमनमा जोड दिनुपर्नेमा जोड दिएका थिए ।















