हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई सम्मान गरिएको छ । सञ्चारिका समूह मकवानपुरले शनिबार हेटौँडामा आयोजना गरेको ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ विषयक विशेष कार्यक्रममा कप्तान साम्बालाई सम्मान गरेको हो ।
उनलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । सम्मान कार्यक्रम सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनियाको प्रमुख आतिथ्यतामाभएको हो ।
उनलाई सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष गुरुङ , प्रमुख आतिथ्यत बानियाँ र पुरस्कारको प्रायोजन गर्ने हेटौँडा स्कुल अफ म्यानेमेन्टका प्रिन्सिपल पुरण जोशी लगायतले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
साम्बा हालै न्यूजिल्याण्डको एक क्लबसँग आवद्ध भएर अष्ट्रेलियाली लिग खेल्ने तयारीमा छिन् । यसअघि साम्बा फ्रान्सेली क्लबमा आवद्ध रहेकी थिइन् ।
भारत, इजरायल हुँदै फ्रान्स पुगेकी साम्बा सर्वाधिक सफल नेपाली महिला खेलाडी समेत हुन् ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख स्किम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य टीकाराम लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिं रानाभाट लगायतको आतिथ्यता रहेको थियो ।

















