हेटौँडा । मकवानपुर सुनचाँदी व्यवसायी संघले दुई दिन व्यवसाय बन्द गर्ने भएको छ । सरकारले हालै प्रस्तुत गरेको बजेटमा सुनचाँदी र बहुमूल्य पत्थरमा लगाइएको करको विरोध गर्दै बुधबार पत्रकार सम्मेलनमार्फत् भोलि जेठ २९ गते बिहीबार र पर्सी ३० गते शुक्रबार गरी दुई दिन व्यवसाय बन्द गर्ने जानकारी गराएको हो ।
संघका अध्यक्ष पवन कुमार शाक्यले करका कारण व्यवसायी मात्र नभई उपभोक्तासमेत प्रत्यक्ष मारमा पर्ने भन्दै राज्यकै कारण आफूहरू सडकमा उत्रिन बाध्य भएको बताए ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि व्यवसायीहरूले त्यसको विरोध गर्दै आन्दोलनमा उत्रिएको उनको भनाई छ ।
केन्द्रको कार्यक्रम अनुसार जेठ २७ गते बसेको बैठकको निर्णयबाट दुई दिन आ–आफुनो पसल तथा व्यवसाय बन्द गरी विरोध स्वरुप बजार परिक्रममा गर्दै कोणसभामा परिणत भई समापन गरिने उनको भनाई छ । जेठ २६ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका थिए ।
अबको कर प्रणाली अनुसार १ तोलाको गहना बनाउँदा सुनको मूल्य बाहेक ३५ हजार थप लागत बढ्ने अध्यक्ष शाक्यको भनाई छ ।
मकवानपुर सुनचाँदी व्यवसायी संघमा हाल २ सय ३० जना व्यवसायी आवद्ध रहेका छन् । व्यवसायीहरूले माग पुरा नभए आन्दोलनलाई अझ चर्काउने चेतावनी समेत दिएका छन ।

















