हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय मेलमिलापको राजाको प्रस्तावलाई सकारात्मक ढंगले ग्रहण आग्रह गरेका छन् । शुक्रवार हेटौंडामा भएको राप्रपा नेपालको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले नेकपा एमाले, कांग्रेस, माओवादी लगायतका दललाई पुर्व राजा ज्ञानेन्द्र शाहको प्रस्तावलाई सकरात्मक लिन आग्रह गरेका हुन् ।
उनले पूर्व राजा शाहको सन्देश कुनै पार्टी र सरकारको विरुद्धमा नभएको बताए । मुलुकले भोग्नुपरेको संकटको मुक्तिको निम्ति र प्रजातन्त्रलाई बलियो बनाउने तर्फ सोच्न पूर्व राजाले आग्रह गरेको उनको भनाई छ ।
सम्पूर्ण दोष राजालाई देखाएर आफ्नो गल्ती ढाकछोप नगर्न पनि उनले राजनीतिक दलहरुलाई चेतावनी दिए । अध्यक्ष थापाले पूर्व राजाको एउटै आह्वानमा नेपाली जनता सडकमा उत्रिन सक्ने समेत जिकिर गरे ।
अध्यक्ष थापाले राजेन्द्र लिङदेन र दिपकबहादुर सिंह तर्फ संकेत गर्दै महाधिवेशनको म्याडेण्ट विपरीत राप्रपा सरकारमा गएको आरोप लगाए । उनले आफु पार्टी एकताको पक्षमा भएको समेत बताए तर लिङदेन र सिंहले अपमानजनक ढंगले हेटौंडामा केही समयअघि एकताको विरुद्धमा अभिव्यक्ति दिएको उनको बुझाई छ ।
अध्यक्ष थापाले सबै हिन्दुवादी, राष्ट्रवादी दलहरु मिलेर पूर्व राजाको आह्वानलाई साकारा पार्नुपर्ने समेत बताए । अध्यक्ष थापाले आगामी चुनावमा जनताले गणतन्त्रवादी कुनै पनि दललाई भोट नहाल्ने समेत टिप्पणी गरे ।

















