हेटौँडा । ८ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब बसेर फर्किएका मकवानपुरका कुबेर तिमल्सिना पछिल्लो समय केराको थामबाट कागज बनाउन ब्यस्त छन्। सन् २०११ देखि साउद अरबमा ड्राइभिङ गरेर ८ वर्ष बिताएर फर्किएका मकवानपुरगढी गाउँपालिका–३ का तिमल्सिनाले युट्युबमा हेरेकै भरमा कागज उत्पादन शुरु गरेका हुन्।
उनीसँग विविध अनुभवको भण्डार छ। ८ वर्ष विदेशमा बस्दा उनलाई आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने कुराले मन पिरोलिरहन्थ्यो । नेपालमै पसिना बगाएर केही गर्छु भन्ने हुटहुटी बोकेर फर्किएका तिमल्सिनाले काठमाडौँमा पनि ट्याक्सी किनेर ५ वर्ष चलाए । ‘विदेशमा मेरो काम राम्रै थियो तर मलाई आफ्नै देशमा केही गर्नुपर्छजस्तो लागेर ८ वर्षपछि स्वदेश फर्किए। त्यसपछि मैले ट्याक्सी किनेर काठमाडौँमा ५ वर्ष चलाएँ,’ उनले भने, ‘त्यसपछि नेपालमा कोरोना महामारी फैलियो र लकडाउनमा मेरो ट्याक्सी व्यवसाय पनि नराम्ररी प्रभावित भयो।’
१२ कक्षासम्म अध्ययन गरेका तिमल्सिनाले १८ महिने भेटेनरीसम्बन्धी अध्ययन पनि गरे। ट्याक्सीबाट पनि खासै कमाई हुन नसकेपछि उनले बाख्रापालन थाले । बिचौलियाको हातबाट बिक्री गर्नुपर्दा उनलाई बाख्रापालनमा पनि चित्त बुझेन। त्यसपछि उनलाई गाउँमै बसेर केही उत्पादन गर्नुपर्छ भन्ने लाग्यो।
अनि उनले युट्युबमा हेर्दै जाँदा केराको थामबाट धागो, कागज, कपडाजस्ता धेरै वस्तु बनाउन सकिने थाहा पाएपछि केराको बोटबाट कागज उत्पादन शुरु गरेको बताउँछन् उनी । ‘गाउँमा पनि धेरै केराखेती हुन्छ। केरा बेचिसकेपछि हामीले त्यसको बोट काटेर फाल्छौँ तर यसबाट धेरै कुराहरु बन्ने कसैलाई थाहा नहुँदा सदुपयोग नगरेको देखिन्छ,’ तिमल्सिनाले भने, ‘युट्युबमा हेरेर मैले थाहा पाएपछि यसलाई सदुपयोग गर्नुपर्छ भनेर उत्पादन गर्न थालेँ।’
डेढ महिनाअघिमात्र ३ लाख रुपैयाँको लगानीमा कागज उत्पादन गर्न थालेका तिमल्सिनाले हालसम्म उद्योगमा ७ लाख लगानी गरिसकेका छन्। छोटो समयमै कागज उत्पादन थालेको उनको नेपाली कागज गढी गाउँपालिकाले ५ हजार पिस खरिद गरिसकेको छ। वार्षिक ५० हजारसम्म नेपाली कागज खरिद गर्दै आइरहेको गाउँपालिकाले अबका दिनमा आफ्नै स्थानीयले उत्पादन गरेको कागज खरिद गर्ने बाचा गरेको उनले बताए ।
उनले हालसम्म १ लाख रुपैयाँको कागज बिक्री गरिसकेका छन् भने कागज खरिदका लागि धमाधम अर्डर आइरहेको तिमल्सिनाले बताए। पहिलो प्रयासमै कागज उत्पादन गर्न सफल भएपछि यसलाई अझै व्यवस्थित ढंगले अघि बढाउने उनले बताए। केराको थामबाट रेशा निकाल्ने र त्यसलाई पकाएर सफा गरेर घाममा सुकाएपछि नेपाली कागज बन्ने उनले बताए।
तिमल्सिना केराबाट बनेको कागजलाई ब्राण्ड बनाउने सोच रहेको बताउँछन्। केराबाट बन्ने वाइन, कपडा, चिप्स, धागो, ग्रिन पाउडरलगायत सबै उत्पादन गरेर खेर गएको केराको बोटको महत्व बुझाउन मेशिनसहितको ठूलो उद्योग स्थापना गरेर गाउँपालिकाका १५र२० जनालाई रोजगारी दिने उनको लक्ष्य छ।
‘नेपालमा केही पनि छैन भनेर युवाहरु विदेश जान्छन् तर गर्न जाने नेपालमा पैसै पैसा छ,’ उनी बताउँछन्, ‘नेपालमा जस्तो अवसर कहीँ छैन‚ मात्रै सम्भावना देख्न र सदुपयोग गर्न सक्नुपर्छ।’ थाहा खबरबाट साभार ।

















