मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले १६२ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका–२४ का ४८ वर्षीय टेकबहादुर दोङ छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहान करिब २ः४५ बजे भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कारलाई ग २ च ६१५ नम्बरको पिकअपले ‘स्कर्टिङ’ गर्दै ल्याइरहेको अवस्थामा प्रहरीले रोकेर जाँच गरेको थियो।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा दुवै सवारीसाधन रोकेर जाँच गर्दा कारको सिटभित्र प्लास्टिकले बेरिएका १३ वटा पोकामा लुकाएर ल्याइएको १६२ किलो ७९४ ग्राम गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार कार र पिकअप रोक्ने क्रममा पिकअप चालक भाग्न खोजेका थिए।
घटनास्थलमा गरिएको प्रारम्भिक सोधपुछका क्रममा पिकअपले गाँजा बोकेको कारलाई ‘स्कर्टिङ’ गरेको खुलेपछि प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ। महतो कार चालक र दोङ पिकअप चालक रहेको प्रहरीले जनाएको छ।
दुवै जना, बरामद गाँजा तथा सवारीसाधनलाई इलाका प्रहरी कार्यालय मनहरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।














