गोलेको जन्मदिनमा ज्येष्ठ नागरिक रुम्बा नगदसहित सम्मानित

मकवानपुर । जन्मदिनमा केक काटेर खर्च गर्नेभन्दा केही फरक काम गरौं भन्ने सोचले मनहरी गाउँपालिका-२ का सूर्यबहादुर गोलेले आफ्नो जन्मदिनको अवसरमा वडाका ज्येष्ठ नागरिक मानबहादुर रुम्बालाई नगदसहित सम्मान गरेका छन्।

शनिबार मनहरी-२ सर्शिधाप निवासी रुम्बालाई घरमै पुगेर गोलेले दोसल्ला ओढाउनुका साथै नगद ४ हजार रुपैयाँ प्रदान गरेका हुन्। १९८४ सालमा जन्मिएका रुम्बा मनहरी–२ का ज्येष्ठ नागरिकमध्ये सबैभन्दा ज्येष्ठ रहेका छन्।

२०५४ साल भदौ २० गते जन्मिएका गोलेले हरेक वर्ष जन्मदिन मनाउने क्रममा गरिने खर्चलाई यसपटक सामाजिक कार्यमा लगाउने निर्णय गरेका हुन्। ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्नुका साथै आफ्नो सानो प्रयासबाट अरूलाई पनि सामाजिक सेवामा जोडिन प्रेरणा मिलोस् भन्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको उनले बताए।

‘जन्मदिनमा केक काटेर फजुल खर्च गर्नुभन्दा केही फरक गरौं भन्ने हुटहुटी थियो। त्यसैले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने निर्णय गरें,’ गोलेले भने, ‘मसँग स्रोतसाधन पर्याप्त भएर यो गरेको होइन। अरूले पनि आफ्नो क्षमताअनुसार विपन्न तथा अभावमा रहेका परिवारलाई आवश्यकताका आधारमा सहयोग गर्न प्रेरणा पाऊन् भन्ने मेरो उद्देश्य हो।’

उनका अनुसार जन्मदिन व्यक्तिगत खुसी साट्ने अवसर भए पनि त्यसलाई सामाजिक उत्तरदायित्वसँग जोड्न सकिने भएकाले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने योजना बनाएका हुन्। आफ्नो जन्मदिनको अवसरमा गरिने खर्चको केही हिस्सा सामाजिक कार्यमा लगाउँदा त्यसले समुदायमा सकारात्मक सन्देश जाने उनको भनाइ छ।

कार्यक्रममा मनहरी गाउँपालिका–२ का वडाध्यक्ष राजकुमार पाख्रिन, स्थानीय युवालगायतको उपस्थिति थियो। वडाध्यक्ष पाख्रिनले गोलेलाई जन्मदिनको शुभकामना दिँदै ज्येष्ठ नागरिकलाई जन्मदिनको अवसरमा सम्मान गर्नु सकारात्मक र अनुकरणीय कार्य भएको बताए।

‘ज्येष्ठ नागरिकलाई सम्मान गर्नु भनेको उहाँहरूको आशीर्वाद प्राप्त गर्नु पनि हो,’ पाख्रिनले भने। गोलेले आफ्नो जन्मदिनलाई सामाजिक कार्यसँग जोडेर गरेको यो प्रयासबाट अरूले पनि प्रेरणा लिनुपर्नेमा उनले जोड दिए।

पाख्रिनका अनुसार ज्येष्ठ नागरिक समाजका अनुभव र ज्ञानका महत्वपूर्ण स्रोत हुन्। उनीहरूको सम्मान र संरक्षणमा परिवारसँगै समुदायको पनि भूमिका रहने भएकाले यस्ता गतिविधिले सामाजिक सम्बन्धलाई थप बलियो बनाउन सहयोग गर्ने उनले बताए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.