कैलाश । मकवानपुरको कैलाश गाउँपालिकाले चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागीका अवसरमा गाउँपालिकाभित्रका सरकारी कार्यालय तथा शिक्षण संस्थामा दुई दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले शुभकामना सन्देश जारी गर्दै भदौ २२ र २३ गते गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने जानकारी दिएका हुन्।
चेपाङ समुदायले परम्परागत रूपमा मनाउँदै आएको न्वागी पर्वलाई प्रकृति पूजा, सांस्कृतिक पहिचान र सामुदायिक एकताको पर्वका रूपमा लिइन्छ। यस पर्वले चेपाङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष मुक्तानले बताए।
पर्वका अवसरमा अध्यक्ष मुक्तानले स्वदेश तथा विदेशमा रहेका चेपाङ समुदायसहित कैलाशवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। विविध सांस्कृतिक पहिचान बोकेका पर्वले समुदायबीच आपसी सद्भाव, सहिष्णुता, एकता र भाइचारा कायम गर्न योगदान पुर्याउने उनको भनाइ छ।
प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकप्रति सहानुभूति र समवेदना व्यक्त गर्दै अध्यक्ष मुक्तानले यस वर्ष पर्वलाई विगतझैं भव्य र उल्लासमय रूपमा मनाउन नसकिने बताएका छन्। विपद्को अवस्थालाई ध्यानमा राख्दै तडकभडक तथा मनोरञ्जनात्मक कार्यक्रम नगर्न उनले आग्रह गरेका छन्।
गाउँपालिकाले न्वागीका अवसरमा परम्परागत रूपमा गरिने प्रकृति तथा पूर्वज पूजा, सांस्कृतिक गतिविधि र पारिवारिक जमघटलाई मर्यादित रूपमा निरन्तरता दिँदै आपसी सद्भाव र सामाजिक एकता कायम गर्न आग्रह गरेको छ।















