मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित प्रतापपुरमा निर्माणाधीन घरमा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–६ कोलाघारी निवासी अन्दाजी ३९ वर्षीय मङ्गल बहादुर प्रजा रहेका छन् ।
आइतबार साँझ करिब ५ः१० बजे सुरेश मोक्तानको निर्माणाधीन नयाँ घरमा ढोका जडान गरी ड्रिल गर्ने क्रममा उनलाई एक्कासी करेन्ट लागेको मकवानपुर प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका प्रजालाई उनकी श्रीमती रस्ती माया प्रजाले तत्काल मनहरी अस्पताल पुर्याएकी थिइन् । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । तर, साँझ करिब ६ः५५ बजे उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतकको शव हाल हेटौंडा अस्पतालमा राखिएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सुनाचुरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करिब ५–६ किलोमिटर उत्तरतर्फ रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















