काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको यो पहिलो पटक हो । काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलो पटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् ।
उनले प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ समेत लिई सकेका छन् । ३६ वर्षीय उनलाई राष्ट्रपति पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । शाहले प्रधानमन्त्री पदसँगै रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन्। झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
साथै नवनियुक्त प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । यसैगरी, स्वर्णिम वाग्लेले अर्थमन्त्री, सुधन गुरुङले गृह मन्त्रालय, शिशिर खनालले परराष्ट्र मन्त्रालय, सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय, विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, खड्कराज पौडेल (गनेश) ले पर्यटन, सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय, निशा मेहता स्वास्थ्य तथा जनसंख्या, विक्रम तिमिल्सिना सञ्चार मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, दीपक साह (महोत्तरी) ले श्रम मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रालय, सीता वादी महिला, बालबालिका मन्त्रालय सम्हाल्ने भएका छन् । उनीहरु सबैले शपथ ग्रहण गरिसकेका छन् ।

















