मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले अत्यधिक चिसो र शीतलहरका कारण विद्यालयमा पठनपाठन सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको भन्दै दुई दिन बिदा दिने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको कार्यालय, मनहरीद्वारा जारी सूचनाअनुसार केही दिनदेखि निरन्तर बढ्दै गएको चिसो र शीतलहरका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो ।
कार्यालयको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको हस्ताक्षरसहित जारी गरेको सूचनामा पुस १६ गतेको निर्णयअनुसार पुस १७ र १८ गते (दुई दिन) मनहरी गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालयहरूमा बिदा दिइएको छ ।
गाउँपालिकाले बिदा अवधिमा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा ध्यान दिन अभिभावकहरूलाई आग्रहसमेत गरेको छ। साथै मौसम अनुकूल भएपछि पठनपाठन नियमित रूपमा सञ्चालन गरिने जनाएको छ ।
प्रतिकृया दिनुहोस्















