बागमती प्रदेशः आन्दोलनबाट भएको क्षतिको विवरण असोज ५ गतेभित्र पेस गर्न निर्देशन

मकवानपुर । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा भएको क्षतिको विवरण यही असोज ५ गतेभित्र पेस गर्न बागमती प्रदेशमा सम्पन्न सचिवहरूको बैठकले निर्देशन दिएको छ ।

बैठकले जेनजी आन्दोलनका क्रममा मन्त्रालय, निकाय तथा मातहतका कार्यालयहरूमा भएको क्षतिको विस्तृत विवरण बुझाउन निर्देशन दिएको हो । बागमती प्रदेशका प्रमुख सचिव भूपाल बराल लगायत प्रदेशका चौध मन्त्रालयका सचिवहरूको उपस्थितिमा बसेको बैठक उक्त निर्णय गरेको हो ।

यस्तै, बैठकले आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड तथा आगजनीबाट क्षति पुगेका सम्पत्ति र कागजातहरूको विवरण सुरक्षा निकायसँग समन्वय गरेर कानुनसम्मत मुचुल्का तयार गर्न र आवश्यक बिमा दाबी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

यसैगरी, क्षतिग्रस्त मन्त्रालय तथा कार्यालयबाट सेवा प्रवाह अवरुद्ध हुन नदिई सम्भाव्य स्थानमा कार्य सञ्चालनको व्यवस्था मिलाउने, आन्दोलमा भएका क्षतिले कार्यालय सञ्चालनमा आएको अवरोधलाई मध्येनजर गर्दै न्युनतम रूपमा कार्य सञ्चालन गर्न र भवन तथा संरचनाको मर्मत, पुनर्निर्माणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयसँग समन्वय गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ भने प्रदेश सरकार अन्तर्गतका भवन तथा संरचनामा भएको क्षतिको प्रारम्भिक अध्ययन, पुनर्निर्माण सम्भाव्यता र लागत अनुमानसहितको संक्षिप्त प्रतिवेदन तयार पार्न चार सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलको संयोजकमा भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव ईश्वरचन्द्र मरहट्ठा रहनुहुने छ भने सदस्यहरूमा खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयका सचिव इन्द्रदेव भट्ट, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भूषाल र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी रहेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.