हेटौँडामा प्रदर्शनको क्रममा लुटिएका सामान स्थानीयको सहयोगमा बरामद, संलग्न व्यक्तिहरु नियन्त्रण

हेटौँडा । भदौ २४ गते भएको जेनजी प्रदर्शनको क्रममा लुटपाटमा परेका सामान प्रहरीले स्थानीयको सहयोगमा फिर्ता गरेको छ । यसै क्रममा शनिबार बिहान हेटौँडा उपमहानगरपालिका–४ कर्राबाट ठूलो संख्यामा लुटपाट गरिएको सामग्रीसहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीले हिजो मात्र लुटपाटमा संलग्न नहुने, बरामद भएका सामान फिर्ता गर्ने र घटनासम्बन्धी भिडियो वा अन्य प्रमाण उपलब्ध गराउन सार्वजनिक अपिल गरेको थियो ।

सोही अपिलपछि स्थानीयवासीको सहयोगमा वडा प्रहरी कार्यालय हेटौँडा, सानोपोखराले कर्राबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, हेटौँडा–१० बाट लुटपाट गरिएको दराज, टेबल, कुर्सी, कम्प्युटरसहितका दुई ट्रक सामान बरामद गरेको हो ।

स्थानीयले दिएको जानकारीअनुसार २४ गते राति नै ती सामान ट्रकमा लोड गरेर कर्रामा ल्याई लुकाइएको थियो । बरामद सामानसहित पक्राउ परेकाहरूमाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले लुटपाटमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट गर्दै घटनामा जो कोही संलग्न देखिए कारबाही हुने बताएका छन् ।

यस्तै, स्थानीय निरज सिंह ठकुरीले लुटपाटमा संलग्न व्यक्तिलाई निगरानीमा राखिएको र बरामद सामग्री प्रहरीलाई बुझाइएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.