मकवानपुर । मकवानपुरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरी दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, हिजो भदौ १२ गते रौतहट गरुडा नगरपालिका–६ बस्ने वर्ष १९ का दुर्गा कुमार साहलाई ७ किलो ६५० ग्राम लागूऔषध गाँजा बरामद गरी पक्राउ गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका–१९, बस्तीपुरस्थित सडकमा शंकास्पद रूपमा हिँडिरहेका उनलाई इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा सो परिमाणको लागूऔषध बरामद भएपछि पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
यस्तै, हिजै लागूऔषध कारोवार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी ठुलोथली बस्ने ४५ वर्षीय राज कुमार मोक्तानलाई पक्राउ गरेको छ । उनलाई २ हजार १०० क्याप्सुल लागूऔषध ट्रामाडोलसहित नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
पक्राउ परेका साह र मोक्तान दुबैलाई नियन्त्रणमा लिई बरामद लागूऔषधसहित मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमति लिई लागूऔषध सम्बन्धी मुद्धामा थप अनुसन्धान भइरहेको जनाइएको छ ।















