मकवानपुर । मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणको लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय नागरिक र दुई नेपाली महिला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, आज बिहान साढे ९ बजेको समयमा हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्टमा चेकजाँच गर्ने क्रममा भारतको बीआर ०१ पीबी १८०२ नम्बरको सुमो गाडी रोकेर तलासी गर्दा ठूलो मात्रामा लागुऔषध फेला परेको हो ।
गाडी चालक भारत उत्तर प्रदेश बहराईच जिल्ला बस्ने ३५ वर्षीय किस्मत अली र २८ वर्षीय शाहरुख अली पक्राउ परेका हुन् । उनीहरूको साथबाट सुमोको पछाडीको वडीभित्र लुकाइ ल्याएको अवस्थामा फिनेरगन १ हजार ९५० एम्पुल, नुफिन १ हजार ९५० एम्पुल, डाइजेपाम १ हजार ९५० एम्पुल गरी जम्मा ५ हजार ८५० एम्पुल र ट्रामाडोल २४० क्याप्सुल बरामद गरिएको छ ।
यस्त, प्रहरीले हिजो भदौ ७ गते राति साढे ८ बजे सोही चेकपोइन्टमा चेकजाँच गर्ने क्रममा पथलैयाबाटहेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ ह १०३ नम्बरको अटोमा सवार दुई महिलालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा–२२ घर भई हाल हेटौंडा–१० बसपार्क बस्ने २९ वर्षीया सम्झना थिङ र सिन्धुली दुधौली–९ घर भई हाल हेटौंडामा बस्ने २३ वर्षीया सोनिका क्षेत्री रहेका छन् । उनीहरूको साथबाट खैरो हेरोइन ३ ग्राम १५० मिलिग्राम र मोबाइल चार्जरभित्र लुकाइएको नाम नखुलेको सेतो पदार्थ २२ ग्राम २० मिलिग्राम फेला परेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
पक्राउ परेका चारै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिइ लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।















