मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनताको भोटको सम्मान गर्दै जनमुखी काम गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश मुख्यमन्त्री नियुक्त भएपछि पहिलो पटक आफू निर्वाचित क्षेत्रमा आयोजित ओैपचारिक कार्यक्रममा सहभागी बानियाँले गरिबमुखी, जनमुखी, आयमुखी र न्यायमुखी काम गरी प्रदेशको समग्र विकासमा काम गर्ने अठोट व्यक्त गरेका हुन् ।
मुख्यमन्त्रीको निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर २ (ख) स्थित मनहरी गाउँपालिकाले बुधबार आयोजना गरेको मुख्यमन्त्रीको स्वागत तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा बोल्दै बानियाँले आफ्नो निर्वाचन क्षेत्रका जनताको भावना र मर्मलाईसमेत मध्येनजर गर्दै निष्पक्ष ढंगबाट जिम्मेवारी पूरा गर्ने बताए ।
‘मलाई प्रदेशसभा सदस्य निर्वाचित गराउन मनहरीका जनताले पनि ठुलो योगदान गरेका छन् । यस भेगका जनताले विश्वास गरेर जिताएकै कारण म मुख्यमन्त्री बन्न सकेँ अब यस भेगका सबै जनताको आवश्यकतालाई मध्यनजर गरी यो वा त्यो पार्टी नभनी विकास गर्नु मेरो कर्तव्य हो ।’, बानियाँले भने । मनहरी गाउँपालिकाको लामिटार चकरी मकरी सडकलाई विशेष प्राथमिकता दिई कालोपत्रे गर्नुका साथै अन्य पुल तथा सडक र अन्य पूर्वाधार विकासमा पनि आफूले ध्यान दिने बानियाँले विश्वास दिलाए । महिलाहरुको महान पर्व हरितालिका तीजलाई सभ्य भव्य र सुसंस्कृत ढङ्गले मनाउन पनि बानियाँले सुझाव दिए ।
गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, खानेपानी उर्जा तथा सिञ्चाई मन्त्री कृष्णकुमार तामाङलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमकैबीच मनहरी गाउँपालिकाले आफ्नो क्षेत्रबाट निर्वाचित सांसद बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएकोमा खुसी व्यक्त गर्दै बधाई ज्ञापनसहित सम्मानपत्रसमेत गरेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाली काँग्रेसकी प्रतिनिधि कमला मैनालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । मुख्यमन्त्री बानियाँले बुधबार नै मनहरी स्थित आफ्नो निर्वाचन क्षेत्रमा रहेको सम्पर्क कार्यालयमा पुगी आम नागरिकका समस्या र गुनासा सुनेका थिए ।

















