हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदका लागि आधिकारिक दाबी पेश गरेका छन् ।
नयाँ सरकार गठनका लागि प्रक्रियाअनुसार प्रदेश प्रमुख समक्ष आज साउन १९ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्तिको दाबी पेश गरिएको हो ।
बानियाँको दाबीमा नेपाली कांग्रेसका ३७ जना र नेकपा एमालेका २७ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षर रहेको छ । दुई दल मिलेर कुल ६४ जना सांसदहरूको बहुमतको समर्थन रहेको दाबी पत्रमा उल्लेख गरिएको छ ।
दाबी पत्रमा कांग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षर रहेको छ । अब प्रदेश प्रमुखले संविधान अनुसार आवश्यक प्रक्रिया अघि बढाउनेछन् ।
यसअघि आजै प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा स्वीकृत गर्दै भोलि साउन २० गते दिउँसो २ बजेभित्र नेपालको संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

















