बागमतीका मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुखको कार्यालयमा आज दर्ता गरिँदै

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले दिएको राजीनामा आज प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिने भएको छ ।

लामाले आइतबार साँझ पत्रकार सम्मेलनमार्फत् मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे पनि प्रदेश प्रमुखको कार्यालय बन्द भइसकेकाले राजीनामा पत्र बुझाउन पाएका थिएनन् । लामाले आफ्नो सचिवालयलाई राजीनामा पत्र जिम्मा लगाएर काठमाडौं हिँडेका थिए ।

राजीनामा दिनुअघि उनले तीन जना मन्त्री नियुक्त समेत गरेका थिए । मन्त्रीहरु गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङको शपथ ग्रहण १५ साउनको दिन दिउँसो ११ बजे तय भएपनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा बिहानै ५ बजे उपचारका लागि भन्दै काठमाडौं गएपछि रोकिएको थियो ।

धापासीस्थित ग्राण्डी अस्पतालमा मूत्रप्रणालीको उपचार गराएर डिस्चार्ज भएपछि देवकोटा ललितपुरको भैंसेपाटीस्थित सरकारी निवासमा बसेका छन् । उनी आज सोमबार हेटौँडा फर्किने तयारीमा रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

बहादुरसिंह लामाको राजीनामा स्वीकृत गरेपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नेछन् । त्यसपश्चात सरकारको नेतृत्व गर्नेले ५६ जना बहुमत सांसदको हस्ताक्षरसहितको दाबी पेश गर्नुपर्ने छ । दाबी पेश सदर भएपछि मुख्यमन्त्रीको नियुक्ती र पद तथा गोपनीयताको शपथ हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.