‘‘मोजाको भकुण्डोबाट सुरु भएको यात्राले मलाई आजको राष्ट्रिय टोलीको कप्तान बनायो’’

हेटौँडा । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले मोजाको भकुण्डोबाट फुटबल यात्रा सुरु गरेको बताएकी छन् । उनले आफ्नो खेल जीवनको आरम्भ निकै कठिन परिस्थितिबाट भएको बताउँदै यस्तो बताएकी हुन् ।

शनिबार हेटौँडामा सञ्चारिका समूह मकवानपुरले आयोजना गरेको ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ कार्यक्रममा सम्मानित भएपछि बोल्दै उनले भनिन्, “मोजाको भकुण्डोबाट सुरु भएको यात्राले मलाई आजको राष्ट्रिय टोलीको कप्तान बनायो।”

उनले सुरुवाती दिनमा खेलकुद सामग्रीको अभाव, आर्थिक कठिनाइ र सामाजिक चुनौतीबीच पनि फुटबल खेल्न नछाडेको बताइन् । “अरू साथीहरू मैदानमा बल खेल्थे, म भने मोजा जम्मा गरेर भकुण्डो बनाएर खेल्थेँ,” उनले स्मरण गरिन् ।

कप्तान भण्डारीले पछिल्लो समय समाजमा खेलकुदप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको बताइन् । स्थानीय सरकारहरूको समर्थन र नयाँ पुस्तामा खेलप्रतिको उत्साहलाई प्रेरणादायी बताउँदै उनले आजका खेलाडीलाई खेल सामाग्रीको अभाव नरहेको र आफुले चाहे जुनसुकै चाुनौतिका बिचमा पनि सामना गर्न सकिने बताइन् ।

उनले नेपाली महिला फुटबल टिम सामाजिक रूपान्तरणको सोच लिएर अगाडि बढिरहेको समेत स्पष्ट पारिन् । उनले खेल सँगसँगै शिक्षालाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइन् । साथै उनले आफू सधैं नेपाली महिलाको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाउन प्रतिबद्ध रहने उद्घोष गरिन् ।

कार्यक्रममा उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.