हेटौँडा । विपद्जन्य घटनाबाट बागमती प्रदेश सबैभन्दा बढी प्रभावित बनेको छ । यस वर्ष मनसुन सुरु भएयता विपद्जन्य घटनाबाट बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको पाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता, उपसचिव शान्ति महतले जानकारी दिए ।
उनका अनुसार, यस वर्ष गत जेठ १५ गतेबाट नेपालमा मनसुन भित्रिएको थियो । नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ । सो अवधिमा बागमती प्रदेशमा मात्रै विपद्जन्य घटनामा १६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता छन् ।
मनसुनजन्यसहित बागमती प्रदेशमा भएका विपद्जन्य २ सय ३१ घटनामा ६२ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता, उपसचिव महतले बताइन् ।
यस्तै, देशभर मनसुनपछि विपद्सहितका घटनामा ७२ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन् । उपसचिव महतका अनुसार कोशी र लुम्बिनी प्रदेशमा १३/१३ जनाको मृत्यु भएको छ ।
यसैगरी, कर्णाली प्रदेशमा १२८ घटनामा आठ जनाको मृत्यु, एक जना बेपत्ता र ४३ घाइते तथा सुदूरपश्चिम प्रदेशमा १६२ घटनामा ६ जनाको मृत्यु र ५७ जना घाइते भएका थिए ।
सातै प्रदेशमा मनसुनबाट दुई हजार ९३८ परिवार प्रभावित बनेको जनाइएको छ ।

















