कुलेखानीको सिमखोलामा बेलिब्रिज जडान अन्तिम चरणमा, साउन १५ देखि सवारी संचालन गर्ने तयारी

मकवानपुर । कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनि सिमखोलामा क्षतिग्रस्त पुलमाथि ‘बेलिब्रिज’ जडान कार्य अन्तिम चरणमा पुगेको छ । गत असार २८ गतेदेखि जडान कार्य अन्तिम चरणमा पुगेको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नभिन सिंहले जानकारी दिए ।

उनका अनुसार, अहिले पुलमाथि वारपार बेलिब्रिज जडान कार्य सकिए पनि ‘डेक प्लेट’हाल्ने काम धमाधम भइरहेको छ । त्यसको लागि ३० जना प्राविधिक र कामदार खटाईएको छ ।

पुलको दायाँबायाँ अर्थात् पहुँचमार्ग नै बगाएकाले बेलिब्रिज राख्न लागिएको उनको भनाई छ । त्यसको लागि भैंसे–भीमफेदी सडकखण्डमा प्रयोगविहीन अवस्थामा रहेका दुई वटा बेलिब्रिज झिकेर लगिएको उनले बताए ।

यस्तै, इन्जिनियर दीपेन्द्र यादवले केही दिनमा नै काम सकिने र यही साउन १५ गतेदेखि उक्त पुल भएर सवारीसाधन संचालन गर्ने तयारी गरेको जानकारी दिए ।

गत असोज ११ र १२ गतेको आएको भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फलो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसँगै सडक क्षतिग्रस्त भएको थियो । त्यसपश्चात खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन हुँदै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.