काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललेआदिकवि भानुभक्त आचार्यको भाषिक योगदानले विश्वभर नेपाली एकतामा जोड दिएको बताएका छन् । आदिकवि आचार्यको २१२ औँ जन्म जयन्तीको अवसरमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
भानुभक्तले नेपाली भाषामार्फत् स्थापना गरेको भाषिक एकताको स्मरण गर्न राष्ट्रपति पौडेलले सबै नेपालीलाई आग्रह गरेका छन् । राष्ट्रपतिले भने, ‘भानुभक्त प्रदत्त नेपाली भाषाकै कारण आज विश्वभर छरिएर रहेका नेपाली भाषीबीच भाषिक एकता कायम गर्न सफल भएको ऐतिहासिक तथ्य हामी सबैले मनन गर्नुपर्छ।’
वाल्मीकि रामायणलाई नेपालीमा अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले अनुवाद गरी नेपाली साहित्यमा ऐतिहासिक योगदान गरेका भानुभक्तको काव्यले हिमाल, पहाड र तराईका जनताबीच भावनात्मक एकता र जनचेतनाको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ।
राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई भानु जयन्तीको अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे । उनले भानुभक्तको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तथा ऐतिहासिक सांस्कृतिक स्थलको रूपमा संरक्षण र विकास गर्न सके मात्र आदिकविप्रति सच्चा श्रद्धा व्यक्त हुने धारणा व्यक्त गरे ।

















