बागमती प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

file-photo

हेटौँडा । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज बसेको बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धी र विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गर्दै सो कुराको जानकारी दिएका हुन् ।

प्रदेश सभाको बैठकमा आगामी आवको लागि ल्याइएको बजेटमाथि प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो धारणा र सुझाव व्यक्त गर्नुका साथै बजेटमाथिको विभिन्न शिर्षकमा मुख्यमन्त्री र अर्थमन्त्रीको जवाफ माग गरेका थिए ।

उनीहरुले उठाएका प्रश्नको अर्थमन्त्री कुन्दनराज काफ्ले र मुख्यमन्त्री बहादुर सिं लामाले जवाफ दिएका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री लामा र अर्थमन्त्री काफ्लेले प्रदेशको १३ वटा जिल्लामा आगामी आर्थिक वर्षदेखी प्रदेशको योजना बैंकबाट छनौट भएका बहुवर्षिय योजना र अन्य भौतिक पूर्वाधार विकासको लागि सिलिङ्ग बजेट निष्पक्ष र पारदर्शी ढंगबाट वितरण गरिने सरकारको लक्ष्य रहेको बताएका थिए ।

उनीहरुले प्रदेशमा सुशासन कायम राख्न र प्रशासनिक क्षेत्रमा हुने अनावश्यक खर्चलाई कटौती गरिने तथा प्रदेशको ६६ वटै निर्वाचन क्षेत्रमा प्रदेश सभाका सदस्यहरुको सिफारिस अनुसार ल्याईएको विभिन्न योजनाहरुलाई योजना बैंक मार्फत् सिलिङ्ग बजेट तोकिँदा विभेद नहुने प्रतिबद्धता समेत व्यक्त गरे ।

साथै प्रदेश सरकारले प्रदेश राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने भीमफेदी कुलेखानी हुदैँ सिस्नेरी सडकलाई अहिले स्तरोन्नती गर्ने कार्य भइरहेको भन्दै प्रदेशको विभिन्न जिल्लाहरुमा स्थानिय प्रशासनलाई विपद् व्यवस्थापनलाई सु–ब्यवस्थित गर्न स्रोत साधन परिचालन गर्न निर्देशन पठाईसकेको उनीहरुको भनाई छ ।

यस्तै, बैठकमा बजेटसँगै प्रस्तुत गरिएको पुरक प्रस्तावलाई पनि विनियोजन विधेयकको अङ्ग बनाउने प्रस्ताव पनि स्वीकृत गरिएको छ ।

बैठकमा सांसदहरु क्रमशः देवेन्द्र श्रेष्ठ, प्रेम पुलामी, रुकु चौलागाई, सुष्पा भुजेल, उर्मिला कुमारी लामा र सृजना सायजुलले विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव दर्ता गराए थिए । ती प्रस्तावहरू बहुमतले अस्वीकृत भएका छन् ।
यसैगरी, बैठकमा आशा लामा र कुमारी तामाङले संयुक्त रूपमा दर्ता गरेको प्रस्ताव भने प्रस्तुत हुन सकेन ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.