हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा पैदलयात्रीका लागि फुटपाथ निर्माण गर्न साइड क्लियरेन्सको प्रक्रिया सुरु गरिने भएको छ ।
वडा कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गर्दै शान्ति टोलस्थित मकवानपुर उद्योग वाणिज्य संघ चोकदेखि लोकप्रिय होटलसम्मको सडकखण्डमा सडक छेउका अस्थायी टहरा, संरचना र अन्य अव्यवस्थित निर्माणहरू हटाइने जानकारी दिएको हो ।
उक्त क्षेत्रमा पेटीको व्यवस्था नहुँदा पैदलयात्रीहरू सिधै मुख्य राजमार्गबाट हिँड्न बाध्य छन् । सडकमा सवारी चाप उच्च भएकाले पैदलयात्रीको सुरक्षामा गम्भीर जोखिम देखिएको छ ।
२ नम्बर वडाध्यक्ष विष्णु गोपाल महर्जनले साइड क्लियरेन्सको क्रममा ढलबाट तीन मिटरभित्र रहेका अस्थायी टहरा, टिनका घर, टेबल, कुर्सी लगायतका वस्तु हटाइने जानकारी दिए । यसपछि सो क्षेत्रमा व्यवस्थित ढंगले फुटपाथ निर्माण गरिने समेत उनले बताए ।
सम्बन्धित सडक त्रिभुवन राजपथ अन्तर्गत पर्ने भएकाले ५० मिटर सडक विस्तारको योजना स्थगित भएको छ । विस्तार कार्य नहुदाँ तत्कालीन आवश्यकता सम्बोधन गर्न साइड क्लियरेन्स गर्ने निर्णय गरिएको वडाध्यक्ष महर्जनले बताए ।
यो प्रक्रिया स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानुनअनुसार अघि बढाइनेछ । वडा नं. २ ले नगरलाई सुरक्षित, व्यवस्थित र सुन्दर बनाउन सबै स्थानीयबासी, घरधनी र व्यवसायीको सहयोग अपेक्षा गरेको जनाएको छ ।

















