हेटौँडा । बागमती प्रदेश सभाको आज सोमबारका लागि आह्वान गरिएको बैठक पनि सरेको छ । दोस्रो कार्यकाल अन्तर्गत जारी छैठौँ अधिवेशनको आजको लागि तय भएको प्रदेश सभा बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको हो ।
प्रदेश सभा सचिवालयले आज दिउँसो १ बजेको लागि बोलाइएको बैठक सूचना निकालेर अपराह्न ४ बजे बस्ने जानकारी गराएको थियो ।
तर, अपराह्न ४ बजे बस्ने भनिएको प्रदेश सभा बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरिएको हो । प्रदेश सभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचनामा विशेष कारणवश आजको बैठक स्थगन गरी अब यहि असार १९ गते बिहीबार बिहान ११:०० बजे बैठक बस्ने निर्णय भएको उल्लेख गरिएको छ ।
सचिवालयका अनुसार, बैठक स्थगनको निर्णय प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख भुवन कुमार पाठकले गरेका हुन्।
यसअघि पनि प्रदेश सभाको बैठक पटक -पटक स्थगित हुँदै आएको थियो। लगातार स्थगन हुँदा बजेट अधिवेशन प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन भन्ने टिप्पणीहरू उठ्न थालेका छन्।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आगामी आव बजेट असमान रुपमा वितरण गरिएको भन्दै प्रदेश सभा सदस्यहरुले असन्तुष्टि जनाउँदै आइरहेका छन् ।

















