हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा दुई दिने सीप महोत्सव २०८२ आयोजना हुने भएको छ । प्रदेश उद्योग परिषद् र सामाजिक विकास मन्त्रालयको संयुक्त पहलमा हुन लागेको उक्त सीप महोत्सव यही असार १२ र १३ गते हुने भएको हो ।
सीप विकास, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने लक्ष्यका साथ उक्त महोत्सवको आयोजना गर्न लागिएको बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलले जानकारी दिए । यो महोत्सवले युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू उपलब्ध गराउने सन्देश प्रवाह गर्दै दक्ष जनशक्ति उत्पादनमा मद्दत पुर्याउने उनको भनाई छ।
महोत्सवमा प्रदेश स्तरीय सीप प्रतियोगिता, साइकोमेट्रिक परीक्षण (१००० बढी विद्यार्थी र युवाहरूलाई लक्षित), पूर्व बाल विकास सहजकर्ता र इलेक्ट्रिकल विधामा तालिम, विद्यार्थी तथा युवाहरूका लागि अभिमुखीकरण र उद्योग भ्रमण, सीप सिकाई र प्रदर्शनी गरिने उनले बताए ।
महोत्सवमा मकवानपुर, चितवन, काठमाडौं र काभ्रेपलाञ्चोकका १८ अप्रेन्टिसीप कार्यक्रम सञ्चालन हुने प्राविधिक शिक्षालयमध्ये सूचना प्रविधि, अटोमोबाइल र होटल व्यवस्थापन अध्यापन गर्ने ९ वटा शिक्षालयबाट प्रतियोगीहरू सहभागी हुनेछन्।
प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यार्थीलाई सम्बन्धित शिक्षालयबाट प्रशंसापत्र प्रदान गरिनेछ। आयोजकहरूले महोत्सवमा करिब ३ हजारदेखि ५ हजारसम्म दर्शक र सहभागीको उपस्थिति रहने अनुमान गरेका छन्।

















