मकवानपुर । नेपाल जेसीजको आयोजना तथा इन्द्रपुर जेसीजको आतिथ्यतामा सञ्चालित ४ दिने बिजनेस एकेडेमी सम्पन्न भएको छ ।
यही जेठ ७ गतेदेखि सुरु भएको एकेडेमीको शनिबार सम्पन्न भएको हो । समापन कार्यक्रम नेपाल जेसीज वर्ष २०२५ की अध्यक्ष रजनी थापाको अध्यक्षता एवम कोशी प्रदेशका प्रदेश सभा सदस्य एवम् नेपाली काँग्रेस मुख्य सचेतक शोभा चेम्जोङ चेम्जोङको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रमुख अतिथि चेम्जोङले राष्ट्रिय स्तरमै युवाको सशक्तिकरण र उद्यम विकासमा टेवा पुर्याउने विश्वासका साथ आयोजना गरिएको एकेडेमीले युवाहरुलाई ब्यवशायिक बनाएर आत्मनिर्भर बनाउने बताइन् ।
एकेडेमीमा देशभरका ६८ जना युवा व्यवसायीहरु सहभागि थिए । एकेडेमीमा सहभागी युवाहरुले स्वदेशमै ब्यवशाय गरी आत्मनिर्भर हुनको लागि विभिन्न सीप सिकेको बताए ।
एकेडेमीमा सहभागी पालुङ जेसीज वर्ष २०२५ का कोषाध्यक्ष अजय कार्कीले व्यवसाय गरिरहेका र गर्ने सोच भएकाहरुका लागि एकेडेमी निकै फलदायी भएको बताए । कार्कीले एकेडेमीमा तिरेको शुल्काको तुलनामा आफुले २० गुणा बढी ज्ञान र सीप हाँसिल गरेका बताए । उनले यो एकेडेमीमा सहभागि भएपछि आफ्नो व्यवसायलाई व्यवस्थित रुपले सञ्चालन गर्ने हिम्मत र जोश प्राप्त भएको बताए ।
यस्तै, अर्का सहभागी पालुङ जेसीज बर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष अजित कार्कीले एकेडेमी उपलब्धीमूलक भएको बताए ।
कार्यक्रममा नेपाल जेसीजका तालिम आयुक्त राजाराम गौतम, कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा, कानुनी सल्लाहकार सुनिल तिमिल्सिना, उपाध्यक्ष उज्ज्वल काब्रा लगायतको आतिथ्यता रहेको थियो ।
एकेडेमीमा भारतीय प्रशिक्षक निशा चन्डक, अनुप मुन्द्रा र नेपाली प्रशिक्षक किरण केसीले सहजीकरण गरेका थिए ।
नेपाल जेसीजले हरेक वर्ष देशभरका युवाहरुलाई उद्यमशीलता, नेतृत्व विकास र व्यवसायिक सञ्जाल विस्तारमा सहयोग पु¥याउने उद्देश्यका साथ बिजनेस एकेडेमीले सञ्चालन गर्दै आएको छ ।
एकेडेमीले सहभागीहरूलाई व्यवसायमा नवीन सोच, नेतृत्व कला तथा आधुनिक प्रविधिको प्रयोगबारे सशक्त बनाउने लक्ष्य राखेको नेपाल जेसीज वर्ष २०२५ का महासचिव विकेशलाल श्रेष्ठले बताए ।














