हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५, स्थित राई टोलदेखि मनकामना मन्दिरसम्मको पदमार्ग सरसफाई सम्पन्न भएको छ । शनिबार रोटर्याक्ट क्लब अफ मकवानपुर, रोटरी क्लब अफ मकवानपुर र बालज्योति मावि (स्वास्थ्य समुह) को संयुक्त आयोजना तथा ए.आर. ग्राफिक्सको प्राविधिक सहयोगमा पदमार्ग सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
पदमार्ग सरसफाई कार्यक्रम रोटर्याक्ट क्लब अफ मकवानपुरका सचिव अमित कुमार क्षेत्रीको सभाध्यक्षता तथा रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालको प्रमुख आतिथ्यतामा भएको हो । सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै अग्रवालले स्वास्थ्य रहन सरसफाई महत्वपुर्ण रहेको बताए । उनले सरसफाई अभियानले नागरिकमा सामाजिक उत्तर दायित्व र सचेतना विकास गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, रोटरी क्लब अफ मकवानपुर वर्ष सन् २०२५÷०२६ का निर्वाचित अध्यक्ष विजय श्रेष्ठले स्वास्थ्य नै मानव जिवनको ठुलो धन भएको बताउँदै सरसफाईलाई विशेष ध्यानमा राख्नुपर्ने बताए । उनले घर वरिपरि मात्रै नभई समाजमा हरेक गल्लीहरुको सरसफाई आवश्यक रहेको बताए । श्रेष्ठले यस्ता सरसफाई कार्यक्रमहरु आगामी दिनहरुमा पनि आयोजना गर्न आग्रह गरे ।
रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३५ जनाको सहभागिता थियो । कार्यक्रममा रोटर्याक्ट क्लब अफ मकवानपुर बर्ष सन् २०२२,२३ का अध्यक्ष प्रदिपकुमार राई, बालज्योति माविका स्वास्थ्य स्वंयम सेविका प्रतिमा सेढाईं , रोटर्याक्ट क्लब अफ मकवानपुरका निवर्तमान अध्यक्ष राजन कटुवाल, निर्वाचित अध्यक्ष अमितकुमार क्षेत्रिलगायतको आतिथ्यता थियो ।
रोटर्याक्ट क्लब अफ मकवानपुरका सदस्यहरुले राईटोलदेखि मनकामना मन्दिरसम्मको पदमार्गका विभिन्न ठाउँहरुमा सुचनामुलक सन्देश लेखिएका बोर्डहरु समेत टाँसेका थिए । यस कार्यक्रमले पैदलयात्रुहरुमा सचेतना अभिवृद्धि गर्नुका साथै वातावणीय प्रदुषण न्युनीकरणमा पनि सहयोग पुर्याउने आयोजकले अपेक्षा गरेको छ ।

















