मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले सञ्चारमैत्री बजेट निर्माण गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ । आगामी आर्थिक वर्ष २०८२–०८३ को कूल बजेटको कम्तीमा दुई प्रतिशत बजेट सञ्चार क्षेत्रमा विनियोजन गर्न महासंघले मुख्यमन्त्री बहादुर सिंह लामालाई बुधबार माग पत्र बुझाएको छ ।
‘बागमती प्रदेश सरकार गठन देखी नै सञ्चार क्षेत्रको हीत र प्रवद्र्धनमा सरकारले गर्दै आएको सहकार्य र सहयोग प्रति आभार व्यक्त गर्दछौं,’ माग पत्रमा उल्लेख छ, ‘अघिल्लो वर्षहरुको बजेटमा प्रदेश सरकारको कूल बजेटको शुन्य दशमलव २० प्रतिशत भन्दा न्यून बजेट मात्र सञ्चार क्षेत्रमा विनियोजन हुनु दुःखद् कुरा हो । त्यसैले आगामी आर्थिक वर्षको बजेट सञ्चारमैत्री बनाईदिनु हुन माग गर्दछौं ।’
प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध कार्यक्रम, पत्रकारलाई स्वास्थ्य विमा कार्यक्रम, पत्रकार कल्याण कोष संचालन, पत्रकार महासंघ बागमतीको भवन निर्माण, प्रदेशस्तरीय पत्रकार संघसंगठनहरुलाई अनुदान सहयोग, पत्रकारिता तालिमहरु लगायत ३२ कार्यक्रम माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको नेतृत्वमा गएको टोलीमा पत्रकारको विभिन्न संघसंगठनको प्रतिनिधीको सहभागिता रहेको थियो ।
टोलीमा पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरी हुँमागाई, निवर्तमान उपाध्यक्ष रुपेश दुलाल, प्रेस यूनियन बागमती प्रदेशका उपाध्यक्ष सुजन विडारी, प्रेस चौतारी बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, प्रेस सेन्टर बागमती प्रदेशकी सचिव भावना रिजाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका लेखा संयोजक अशोकसुजन श्रेष्ठ लगायत रहेका थिए ।















