मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९, नामटारमा चार दिने भाषण तथा उद्घोषण तालिम सुरु भएको छ । द ग्रीन तारा नेपालको आयोजना तथा गाउँपालिकाको सहयोगमा तालिम सुरु भएको हो ।
संस्थाका अध्यक्ष सुमित्रा थिङको अध्यक्षता तथा वडा नम्बर ९ का अध्यक्ष भुवन सिंह घलानको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।
महिला सशक्तीकरणमा टेवा पुग्ने उद्देश्यले तालिमको आयोजना गरिएको वडाध्यक्ष घलानले बताए । तालिम पश्चात महिलाहरुमा बोल्न सक्ने क्षमता वृद्धि हुनुका साथै संघसंस्थाका माइन्यूट लेखनमा समेत सहयोग पुग्ने उनले बताए ।
तालिमलाई आशिष दुलालले प्रशिक्षण गर्ने छन् भने तालिममा पालिकाका वडा तहका महिला जनप्रतिनिधि, सहकारी तथा सामाजिक संघसंस्थाका अध्यक्ष तथा सचिव, बाल क्लबका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
चार दिनसम्म सञ्चालन हुने तालिममा भाषण कला, बैठक सञ्चालन र म्याइन्युट लेखन, औपचारिक कार्यक्रम तथा अनौपचारिक कार्यक्रम सञ्चालनका विषयवस्तुमा तालिम प्रदान गरिने संस्थाका अध्यक्ष थिङले बताइन् ।
उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य गोरीमाया बुलुन, सुन्तली सुनुवार, गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रमिला सापकोटा, प्रशिक्षक आशिष दुलाल लगायतको आतिथ्यता रहेको थियो ।

















